आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

त्रिशूली र भोटेकोसीमा भीषण बाढी : नुवाकोट–रसुवामा उच्च जोखिम, स्थानीयलाई सतर्कता अपनाउन आग्रह

त्रिशूली र भोटेकोसीमा भीषण बाढी : नुवाकोट–रसुवामा उच्च जोखिम, स्थानीयलाई सतर्कता अपनाउन आग्रह

१४ साउन,  काठमाडौं । आज बिहान ३:०० बजेपछि भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह अत्यधिक रूपमा बढेको छ। यसले नुवाकोट र रसुवाका तटीय क्षेत्रहरूमा गम्भीर खतरा निम्त्याएको छ। बाढीका कारण नदी कटान बढेको, बस्तीभित्र बाढी पस्ने सम्भावना देखिएको र स्थानीयको ज्यान–मालमा जोखिम बढेको जनाइएको छ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले विशेष गरी पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रहरूमा नदी कटान गरेको छ। ती क्षेत्रहरूमा बाढीको बहाव तीव्र भएकाले आसपासका बस्तीहरू थप जोखिममा परेका छन्। अहिले पनि वर्षा जारी रहेकाले बाढीको सतह झनै बढ्न सक्ने अनुमान छ।

स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई अत्यधिक सतर्क रहन र आवश्यक परे तुरुन्तै सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। जोखिमपूर्ण क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी बलले माइकिङ गर्दै नागरिकलाई सतर्कता अपनाउन र सम्भावित स्थानान्तरणका लागि तयार रहन अनुरोध गरिरहेका छन्।

यसैबीच, नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा अवस्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा बाढीले क्षति पुर्‍याएको छ। विद्युत आपूर्ति र पूर्वाधारमा पनि असर परेकाले स्थानीय प्रशासनले थप सतर्कता अपनाउन सबै पक्षलाई पुनः आग्रह गरेको छ।

प्रशासनले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै तयारी अवस्थामा बस्न अनुरोध गर्दै विपद् व्यवस्थापनको सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाएको जनाएको छ। जलस्रोत नजिकका बासिन्दालाई जोखिमयुक्त स्थानमा नबस्न, बाढीको सूचना नियमित रूपमा लिन र स्थानीय प्रशासनको निर्देशनको पालना गर्न समेत अनुरोध गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend