११ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै कर्णाली प्रदेशका नेताहरुलाई ‘हावाको झोक्कामा नउड्न’ स्पष्ट निर्देशन दिएका छन्। शनिबार साँझ बालुवाटारमा करिब तीन घण्टा चलेको विशेष छलफलमा ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्यहरूसँग सो कुरा बताएका हुन्।
छलफलको सुरुवातमै ओलीले हालै सम्पन्न नवौँ केन्द्रीय समिति बैठकमा कर्णाली प्रदेशले देखाएको एकता र प्रतिबद्धताको प्रशंसा गरे। “कर्णालीले एकताबद्ध सन्देश दिएकोमा म आभारी छु,” उनले भने, “तर, अहिले देखिएको झिनो हावाको झोक्कामा विचलित हुनुहुन्न। पार्टी निर्माणमा तल्लीन रहनुहोस्।”
ओलीले पार्टीको संघर्षपूर्ण इतिहास स्मरण गराउँदै, “हामी आँधीबेहरी र तुफानको सामना गर्दै यहाँसम्म आइपुगेका हौं। अहिले देखिएको त सानो झोक्का मात्रै हो, समाधान सजिलै हुन्छ,” भन्दै नेताहरूलाई भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा केन्द्रित हुन आह्वान गरे ।

बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पनि स्पष्ट संकेत गर्दै टिप्पणी गरे। “देशको अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यताको विषयमा देखाएको बखेडा उहाँकै कद घटाउने काम भएको छ,” ओलीले भनेको बैठकमा सहभागी स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।
पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्षमा आँखा लगाएको संकेत गर्दै ओलीले भने, “पार्टी सदस्यता नवीकरणसँगै नेतृत्वको आकांक्षाले हामी केन्द्रीय कमिटीमार्फत निर्णयमा पुग्न बाध्य भयौं।”
ओलीले एमाले अहिले चौतर्फी घेराबन्दीमा परिरहेको दाबी गर्दै पार्टीको ध्यान अब २०८४ को निर्वाचनमा जनादेश प्राप्त पहिलो शक्ति बन्ने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए। “हामीलाई कसरी जनताले एक नम्बरमा राख्छन् भन्ने रणनीति तय गर्नुहोस्,” उनले भने।
बैठकमा सहभागी कर्णालीका नेताहरूले प्रदेशको संगठन सुदृढीकरणका साथै कर्णालीको समृद्धिको खाका समेत प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए। विशेषगरी स्थानीय तह र जिल्लामा पार्टी बलियो बनाउने योजना, सरकारको विकास प्राथमिकता, रोजगारी सिर्जना, स्वास्थ्य तथा पूर्वाधार विस्तारका विषयमा छलफल भएको इन्चार्ज बोगटीले जानकारी दिए।
ओलीले कर्णालीका दशै जिल्लामा र प्रत्येक स्थानीय तहमा एमालेलाई पहिलो शक्ति बनाउन ‘अर्जुन दृष्टि’का साथ लाग्न निर्देशन दिए। “तपाईंहरूको भूगोल जिम्मेवारी हो। जनतालाई एमाले नै विकल्प हो भन्ने सन्देश दिनुस्,” उनले भने।
ओलीले राष्ट्रिय राजनीति अहिले विश्राम नभई पुनः संघर्षको मोडमा प्रवेश गरिरहेको बताउँदै यस्तो अवस्थामा अनुभवी, प्रतिबद्ध र सङ्गठित नेतृत्व आवश्यक भएको बताए। “हावाको झोक्काले एमाले जस्तो आँधीमा हिँड्ने पार्टीलाई केही गर्दैन,” उनले भने।
यसै सन्दर्भमा उनले स्पष्ट रूपमा आफ्ना नेताहरुलाई चेतावनी शैलीमा भने, “लहडमा लाग्नेलाई इतिहासले चिन्दैन। हामी इतिहास बनाउन चाहन्छौं, इतिहास मेट्न होइन।”
बैठकले कर्णाली संगठन बलियो बनाउने मात्र होइन, पार्टीभित्र पछिल्लो असन्तोषलाई पनि एकतामा परिणत गर्ने सन्देश दिएको एमाले नेताहरूको निष्कर्ष छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend