११ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि यसको असर अझै कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थामै अवस्थित भएकाले देशका पहाडी र केही तराई भूभागमा आज पनि वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा सामान्यतया बदली भएको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको मौसम विश्लेषण छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
दिउँसो देशभर सामान्य बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। विशेषगरी देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।
रातको समयमा पनि वर्षा कायमै : केही स्थानमा भारी वर्षा
आज राति पनि देशभर सामान्य बदलीको अवस्था कायम रहनेछ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने भएकाले स्थानीयवासीहरूलाई सतर्क रहन भनिएको छ। पानीका मुहान, नदी, खोल्सामा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्हarूको आग्रह छ।
सतर्कता आवश्यक : भारी वर्षाले बाढी, पहिरोको जोखिम
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले स्थानीय तहहरू, यात्रुहरू, किसानहरू, तथा निर्माण कार्यमा संलग्नहरूलाइ आवश्यक सावधानी अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।
मौसम अपडेट लिँदै सुरक्षित यात्राको योजना बनाउने, आवश्यक तयारी राख्ने र जोखिमयुक्त स्थानहरूमा नबस्न महाशाखाले पुनः आग्रह गरेको छ। आगामी दिनमा पनि मनसुन सक्रिय हुने सम्भावना भएकाले नागरिकले समयमै सतर्कता अपनाउन सुझाव दिइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend