२ साउन,काठमाडौं । नेपालको वाम राजनीतिक वृत्तमा बहुप्रतीक्षित एकता अन्ततः सार्थक बन्ने संकेत देखिएको छ। नेकपा (राष्ट्रिय एकता अभियान) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता गर्ने निर्णय अन्तिम चरणमा पुगेको छ। आइतबार भैंसेपाटीमा वामदेव गौतमको अध्यक्षतामा बसेको राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता गर्ने निर्णय पारित गरेको हो।
बैठकले विगत चार वर्षको समीक्षा गर्दै, वैचारिक, संगठनात्मक र राजनीतिक दृष्टिले दुई पार्टीबीच स्पष्ट एकरूपता रहेको निष्कर्षमा पुग्दै एकताको वातावरण परिपक्व भइसकेको उल्लेख गरेको छ। विशेषतः राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता भएकाले पार्टी एकता अपरिहार्य र सार्थक भएको निष्कर्ष पनि बैठकमा प्रस्तुत गरिएको थियो।
आज नै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एकता सभाको आयोजना गरिएको छ, जहाँ औपचारिक रूपमा पार्टी एकता घोषणा गरिनेछ। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार एकता सभाको सम्पूर्ण कार्यसूची तथा नेताहरूको मर्यादाक्रम व्यवस्थापन सम्पन्न भइसकेको छ।
पार्टी एकता पछि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेताका रूपमा झलनाथ खनाल र त्यसपछि वामदेव गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ। पार्टी एकताको सन्देश प्रवाह गर्न नेकपा (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटी र कार्यकर्तालाई अनिवार्य रूपमा सभामा सहभागी हुन निर्देशन दिइसकेको छ।
विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनपश्चात् छुट्टाछुट्टै राजनीतिक गतिविधिमा संलग्न रहेका यी दुई धारहरू लामो औपचारिक र अनौपचारिक छलफलपछि अन्ततः एकताको निर्णायक मोडमा पुगेका हुन्। वाम एकताको सन्देश दिने गरी तय गरिएको आजको कार्यक्रम नेपाली राजनीतिमा एक नयाँ अध्यायको संकेतको रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend