३० असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।
बैठकमा सरकारका विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम हुनेछ। जसअनुसार सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
त्यसैगरी आजको बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची पनि रहेको छ।
आजको बैठकमा विशेषगरी सांसदहरूले विगतमा उठाएका प्रश्नको आधारमा मन्त्रालयहरूको जवाफदायित्वबारे चर्चा हुने अपेक्षा गरिएको छ। साथै, राष्ट्रिय खेलकुद विकाससम्बन्धी विधेयकमाथि भएको संशोधन प्रस्तावले खेलकुद क्षेत्रको नीतिगत पक्षमा आवश्यक सुधार ल्याउने सरकारको योजना रहेको बताइएको छ। प्रतिनिधि सभाको बैठक यथासमयमा सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend