२० असार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले सोमबार एक सूचना जारी गर्दै गत असार १७ र १८ गते सञ्चालन भएका पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तहका परीक्षाको नतिजा प्रकाशन गरेको हो। परीक्षार्थीहरूले परिषद्को आधिकारिक वेबसाइट application.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा आफ्नो नतिजा हेर्न सक्नेछन्।
उत्तीर्ण परीक्षार्थीले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन आउँदा परीक्षार्थीले आफ्नो नागरिकताको सक्कल प्रतिलिपि, परीक्षाको प्रवेश पत्र र शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ।
परिषद्ले प्रमाणपत्र वितरणका लागि असार २२ गतेदेखि फरकफरक समयमा वितरण तालिका सार्वजनिक गरेको छ। साथै, परीक्षामा चित्त नबुझ्ने परीक्षार्थीलाई नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था मिलाइएको पनि परिषद्ले स्पष्ट पारेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend