आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज पनि भारी वर्षाको सम्भावना : पहाडी र तराईका बासिन्दालाई सतर्क रहन आग्रह

आज पनि भारी वर्षाको सम्भावना : पहाडी र तराईका बासिन्दालाई सतर्क रहन आग्रह

१२ असार, काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज बिहीबार अधिकांश भागमा बादल लाग्ने र विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले बाढी, पहिरो र भूक्षयको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्यम वर्षाको अनुमान गरिएको छ, भने तराई क्षेत्रमा पनि हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। राति यी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना अझै उच्च हुने बताइएको छ।

बागमती प्रदेशमा पनि पहाडी तथा हिमाली भूभागमा दिउँसो मध्यम वर्षा र राति भारी वर्षा हुन सक्नेछ। काठमाडौं उपत्यकासहित अन्य शहरी क्षेत्रहरूमा पनि पानी पर्ने सम्भावना छ।

गण्डकी प्रदेशका पहाडी भूभागमा दिउँसो नै भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। रातिसम्ममा तराईसम्म वर्षा फैलिन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी र कर्णाली प्रदेशहरूमा पनि दिनभर आंशिक बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णालीका पहाडी भूभागमा दिउँसो भारी वर्षा हुनसक्छ भने रातिमा सामान्य वर्षा हुने देखिएको छ।

सुदूरपश्चिम प्रदेशमा भने दिनभर र राति दुवै समयमा भारी वर्षा हुने सम्भावना छ। हिमाली, पहाडी र तराई भूभागमा वर्षाका कारण नदीको बहाव बढ्न सक्ने, पहिरो खस्न सक्ने, तथा यात्रा र जनजीवन प्रभावित हुन सक्ने खतरा महाशाखाले औंल्याएको छ।

महाशाखाले सबै नागरिक, विशेषगरी पहाडी बाटो प्रयोग गर्ने यात्रुहरू, कृषकहरू र नदी किनाराका बासिन्दालाई आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend