राम प्रसाद गैरे (आरपी) ६ असार , काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१० स्थित केबलपुरमा २०४७ साल साउन १५ गते रामजी प्रसाद पौडेल र पार्वती पौडेलको कोखबाट जन्मिएका बिनोद पौडेल आजको दिनमा कृषि क्षेत्रमा एउटा प्रेरणादायी नाम बनेका छन्। पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेश फर्केर आधुनिक कृषि कर्ममा रमाउँदै आएका पौडेलले अहिले च्याउ खेतीलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएका छन्। कृषि क्षेत्रमा देखा परेका चुनौती र समस्याको बाबजुद बिनोदले निष्ठापूर्वक आफ्नो कर्ममा निरन्तरता दिँदै आएका छन्।
बिनोदको प्रारम्भिक यात्रा परदेशबाट सुरु भएको थियो। विदेशी भूमिमा पाँच वर्षको अनुभव बटुलेपछि उनले महसुस गरे– वास्तवमा समृद्धिको मूल कुञ्जी आफ्नै देशको माटोमा लुकेको छ। यही सोचले उनलाई फर्किन उत्प्रेरित गर्यो। नेपाल फर्किएपछि उनले थाक्रेमै आधुनिक कृषि प्रणालीमार्फत च्याउ खेती सुरु गरे। सिटीभिटी (CTEVT) बाट च्याउ खेतीको लेवल १ उत्तीर्ण गर्दै उनले प्राविधिक ज्ञानमा पकड हासिल गरे। त्यसपछिका दिनमा उनले विभिन्न च्याउ खेती तालिम, बीउ उत्पादन तालिम तथा व्यावसायिक सिपमूलक कार्यक्रमहरूमा सहभागी भई आफ्नो सीपलाई थप निखार दिए।
बिनोद पौडेल हाल “जलेश्वर च्याउ तथा पशुपन्छी फर्म प्रा. लि.” का संस्थापक तथा संचालक हुन्। फर्मको ठेगाना धादिङकै थाक्रे–१० मा रहेको छ। फर्ममार्फत उनी मुख्य रूपमा कन्ये च्याउ तथा मौसमी तरकारीहरूको उत्पादन गर्दै आएका छन्। बिनोदले आफ्ना उत्पादनलाई स्थानीय बजारमा मात्रै सीमित नराखी काठमाण्डौं उपत्यकासम्म आपूर्ति गर्दै आएका छन्। कृषिमा उनको सफल यात्रा त्यत्तिमा सीमित छैन, उनी आधुनिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन्।
कृषक तथा कृषिमा आबद्ध संघसंस्थामा उनको सक्रियता प्रशंसनीय छ। उनी च्याउ उत्पादक किसान संघ नेपालको कोषाध्यक्ष पदमा छन् भने अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यको रूपमा समेत उनी योगदान दिँदै आएका छन्। साथै, जलेश्वर धाम संरक्षण तथा विकास संस्थाको सचिवको रूपमा पनि उनी धार्मिक तथा सामाजिक सेवामा लागिपरेका छन्।

आजको दिनमा बिनोद पौडेलले संचालन गरेको च्याउ फार्मबाट वार्षिक कारोबार करिब एक करोड रुपैयाँ पुग्ने गर्छ भने शुद्ध आम्दानी करिब १० देखि १२ लाखसम्म हुने उनले बताएका छन्। यस्तो आम्दानी ग्रामीण भेगमा बसेर कृषिमा गरिएको व्यावसायिक कर्मको उत्कृष्ट नमुना हो।
तर सफलता सजिलै आएको भने होइन। बिनोदका अनुसार च्याउ खेतीको क्षेत्रमा अझै पनि थुप्रै समस्या छन्। उनी भन्छन्, “उन्नत प्रविधिको अभाव, तालिमको कमी, नीतिगत अपुरोपन, बजारमा बिचौलियाको चलखेल र सरकारी सहयोगको अभावले हामी कृषकहरू निरुत्साहित भइरहेका छौं।” उनले स्पष्ट शब्दमा भने, “हामी किसानले उत्पादन गर्छौं, तर हाम्रो उत्पादन बजारमा लैजानुपूर्व बिचौलियाले हामीभन्दा बढी लाभ उठाउँछन्। सरकारी निकायले सहयोगको साटो अव्यवस्थित नीतिगत निर्णय लिन्छ, जसमा न कृषकको हित छ, न नै दीगो कृषि विकासको आधार।”
उनको गुनासोमा गम्भीरताको झल्को छ। किसान सहकारीमार्फत बजार व्यवस्थापन नगरी कृर्षिमा नलागेकाहरुलाई बिना टेन्डर सरकारी आपूर्ति बजार दिनु गलत भएको उनी ठोकुवा गर्छन्। त्यतिमात्र होइन, राष्ट्रिय च्याउ नीतिको अभावले च्याउ उत्पादकहरू अनिश्चित भविष्यमा हिँड्न बाध्य भएको उनको तर्क छ। सरकारी नीति निर्माण तहमा कृषकहरूको प्रतिनिधित्व नहुनु, बिचौलियाको निर्बाध पहुँच, र न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी नहुनुले कृषिमा स्थायित्व ल्याउन कठिन बनाइरहेको उनको भनाइ छ।
बिनोदले श्रमिक अभावसमेत अर्को ठूलो चुनौती भएको बताएका छन्। “च्याउ खेतीमा नियमित देखभाल, हावा र तापक्रमको व्यवस्थापन, समयमै बारीदेखि भण्डारण र बजारसम्मको प्रक्रिया सबै अत्यन्त संवेदनशील हुन्छ। यस्ता कार्यहरूमा योग्य श्रमिकको अभावले हाम्रो उत्पादन र आम्दानीमा सीधै असर पर्छ,” उनी भन्छन्।
उत्पादनको सन्दर्भमा उनी बताउँछन्, “हामी वार्षिक करिब एक लाख तीस हजारभन्दा बढी कन्ये च्याउ उत्पादन गर्छौं। यसका अतिरिक्त मौसमी तरकारीको उत्पादन पनि १५ हजार केजीभन्दा बढी हुन्छ।” यस्ता आँकडाले बिनोदको व्यावसायिक कृषि यात्राको सफलतालाई उजागर गर्छ।
बिनोदको कथा केवल एउटा कृषकको कथा होइन; यो नेपालमा सम्भावनायुक्त कृषिका बिउहरूको कथा हो, जसले परिश्रम, लगन र सीपको समुचित संयोजनबाट जीवन बदल्न सकिने सन्देश दिन्छ। वैदेशिक रोजगारीलाई विकल्प नभई बाध्यता बनाइएको सन्दर्भमा बिनोदको पहलकदमीले थुप्रै युवाहरूलाई आफ्नै देशमा अवसर खोज्न प्रेरणा दिएको छ।

आज जब गाउँका खेतबारी बाँझा छन्, युवा विदेश पलायन भइरहेका छन्, बिनोदजस्ता कृषकहरूले आत्मनिर्भरता र समृद्धिको बाटो देखाएका छन्। कृषि कर्मप्रति समाजमा फैलिएको उपेक्षाको दृष्टिकोण परिवर्तन गर्न बिनोद पौडेलको जीवनले महत्वपूर्ण भूमिका खेल्न सक्छ। यस्ता कर्मशील व्यक्तित्वलाई राज्यले प्रोत्साहन गर्नु, आवश्यक प्रविधि, अनुदान, तालिम, र नीति निर्माणमा समावेश गर्नु अत्यावश्यक भएको छ।
कृषिमा आत्मनिर्भर नेपाल बनाउने सपना बोकेको आजको सरकारका लागि बिनोदको जस्तै उदाहरणहरूलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु बुद्धिमानी हुनेछ। यस्तो वातावरण तयार गर्न सकियो भने बिनोदहरू शहर छाडेर गाउँ फर्कनेछन्, कृषिमा भविष्य देख्नेछन्, र नेपाल समृद्धिको दिशातर्फ अघि बढ्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend