आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दरबार हत्याकाण्ड भएको २४ औँ स्मृति दिवस आज मनाइँदै

दरबार हत्याकाण्ड भएको २४ औँ स्मृति दिवस आज मनाइँदै

१९ जेठ ,काठमाडौं ।  नेपाली इतिहासको सबैभन्दा शोकपूर्ण र रहस्यमय घटनामध्ये एक, नारायणहिटी दरबार हत्याकाण्डको आज २४ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रममार्फत मनाइँदैछ। २०५८ साल जेठ १९ गते शुक्रबार राति, राजधानीको केन्द्रमै रहेको नारायणहिटी राजदरबारभित्र सम्पन्न भोज कार्यक्रम एकाएक नरसंहारमा परिणत भयो। यस घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज नीराजन, राजकुमारी श्रुति, राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, साथै राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्ग विक्रम शाहको ज्यान गएको थियो।

घटनापछि अर्धमूर्छित अवस्थामा भेटिएका तत्कालीन युवराज दीपेन्द्रलाई भोलिपल्ट, अर्थात् जेठ २० गते औपचारिक रूपमा राजा घोषणा गरियो। तर दीपेन्द्रको पनि उपचारको क्रममा जेठ २२ गते निधन भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नेपाल राज्यको राजा घोषणा गरिएको थियो।

घटनाको अनुसन्धानका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले केही सातामै प्रतिवेदन पेश गर्दै तत्कालीन युवराज दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। तथापि, सो प्रतिवेदनप्रति आम जनमानसले विश्वास गर्न सकेन र आज पनि उक्त निष्कर्षप्रति व्यापक शंका कायम छ।

पूर्व राजा वीरेन्द्र र उनका परिवारको सम्झनामा आज विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरिएका छन्। यसै क्रममा योगी नरहरि नाथ आध्यात्मिक परिषदले जावलाखेलस्थित पूर्व राजा वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै विशेष श्रद्धाञ्जली सभा आयोजना गरेको छ। स्मृति दिवसका माध्यमबाट हरेक वर्ष नेपाली जनताले त्यो रक्तरञ्जित रातको पीडा पुनः सम्झन्छन्, र अझै पनि सत्यको खोजीमा उत्तरविहीन प्रश्नहरू लिएर राष्ट्र मौन उभिएको देखिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend