१२ जेठ, काठमाडौँ । हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनहरूमा मनसुन प्रणाली क्रमशः सक्रिय हुँदै अगाडि बढ्ने सम्भावना देखिएको छ।
महाशाखाले जनाएअनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही र दक्षिण-पश्चिमका अधिकांश भू-भाग, भारतको केरला क्षेत्र, माल्दिभ्स र श्रीलङ्कामा मनसुन भित्रिसकेको छ। यतिबेला बंगालको खाडीबाट जमिनतर्फ सक्रिय रूपमा मनसुन प्रणाली विस्तार हुँदै गर्दा त्यसको असर नेपालमा समेत देखिन थालेको हो।
सोमबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशका साथै देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। ती प्रदेशका थोरै स्थानमा र अन्यत्र एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च-पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि छ।
महाशाखाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक आवागमन र हवाई यातायातमा सम्भावित असर पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता र तयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुनपूर्वको यो सक्रियता मनसुन प्रवेशको पूर्वसंकेत हो, जसले आगामी दिनमा देशभर वर्षा प्रणाली थप तीव्र बनाउने सम्भावना बलियो बनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend