आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी

जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी

२७ वैशाख,काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने माध्यमको रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन । काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै यस्तो धारणा राखेका हुन । उनले वनलाई संरक्षणमुखी दृष्टिकोणमा मात्र सीमित नराखी उत्पादनमुखी र समावेशी ढंगले उपयोग गर्नुपर्नेमा जोड दिंदै जलवायु, जीवनशैली, र जनजीविकाको दिगो आधारको रूपमा वन क्षेत्रको सम्भावनालाई सक्रिय रूपमा उपयोग गर्नुपर्ने बताए।

मन्त्री शाहीले नेपालको वन प्रणाली सफल लोकतन्त्रको प्रतिबिम्ब भएको भन्दै तीन तहका सरकारहरूबीचको समन्वय आवश्यक रहेको उल्लेख गरे। संघीय संरचनाअनुसार प्रदेश सरकारको नेतृत्वमा वन व्यवस्थापन सञ्चालन हुनुपर्ने भए पनि संघ, प्रदेश र स्थानीय तहले आपसी जिम्मेवारी बोध गर्दै सामूहिक प्रयास गर्नु पर्ने आवश्यकता उनले औंल्याए। उनले नेपालमा कुल भूभागको ४५ प्रतिशतभन्दा बढी भाग वन क्षेत्र भए पनि आवश्यक काठ विदेशबाट आयात गर्नु परेको विडम्बनालाई नीतिगत कमजोरीसँग जोडे। नीति पुनरावलोकन र वन वैज्ञानिक सिद्धान्तअनुसार कार्यान्वयन नगरेसम्म आत्मनिर्भरता सम्भव नरहने भन्दै उनले देशभित्रै उत्पादन भएको काठको उपयोग प्राथमिकतामा राख्ने बताए।

कार्यक्रममा वन राज्यमन्त्री रूपा विकले विज्ञानमा आधारित वन व्यवस्थापन अपरिहार्य भएको बताउँदै समुदायमा आधारित प्रणालीले जनसहभागिता बढाएको उदाहरण पेश गरिन्। नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले कानुनी स्पष्टता र सेवा प्रवाह सुधारका लागि नेपाल वन प्राविधिक परिषद् स्थापना गर्नुपर्ने माग राखे।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले वनलाई आर्थिक मूल्यका मात्र रूपमा नहेरी सांस्कृतिक र वातावरणीय सन्तुलनका दृष्टिकोणबाट हेरिनु पर्ने चेतावनी दिए। कार्यक्रमका अन्य वक्ताहरूले वन विनाशको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै पछिल्लो समय वनको विस्तार हुँदै गएको र तीन हजारभन्दा बढी नागरिक संस्था यस क्षेत्रमा सक्रिय रहेको जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend