२२ मंसिर, काठमाडौँ । राजनीतिक दलका नेताहरु सहित सरोकारवालाहरुले नेपाली उत्पादनको प्रयोगलाई बढवा दिन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभामा बोल्दै सहभागीहरुले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोफासहितका नेपाली उत्पादनलाई सरकारी कार्यालयमा प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो । प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी सोफा रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘बालुवाटारमा विदेशी सोफा रहेछ । कम्फर्टटेबल पनि छैन त्यो । त्यो सोफा विस्थापित गरेर स्वदेशी राख्नुपर्ने आवश्यकता छ ।’
उहाँले केही अघिसम्म विदेशी सोफाको दबदबा रहेको अवस्थामा अहिले नेपाली स्तरीय सोफाहरु नेपालमै उत्पादन हुन थालेको जानकारी आफूले पाएको उल्लेख गर्दै सोहीअनुसार सिंहदरबारदेखि बालुवाटार र सिंहदरबारसम्मका सरकारी कार्यालयमा मात्रै प्रयोग भए व्यवसायीमा पनि प्रोत्साहन मिल्ने धारणा ब्यक्त गर्नु भयो । ।
उहाँले फर्निचरको कुरा गर्दैगर्दा स्वदेशी काठका पनि सही प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै पुराना ऐन कानुनका कारण समस्याहरु उत्पन्न भएकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने बताउनु भयो । उहाँले राज्यले आर्थिक विकास र समृद्धिका लागि आवश्यकताका आधारमा लगानी गरेर उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन प्रयोग हुनुपर्छ भन्नेमा आफू पनि रहेको भन्दै त्यसर्फ लाग्नुपर्नेमा जोड दिनु भयो । आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने पनि बताउनु भयो । कार्यक्रममा चेम्बर अफ कमर्सका उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका उपाध्यक्ष राममणि गैरे, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न राज्यले साथ दिनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।
उक्त साधारणसभाबाट तारालाल धरेलको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दीपेन्द्र धरेल, कोषाध्यक्षमा महेशराज थापा चयन हुँदा सदस्यहरुमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्त, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै सर्वसम्मत भएका छन् । कार्यक्रममा अध्यक्ष धरेलले काठमाडौँमा मात्रै १०० को हाराहारीमा सोफा उत्पादकहरु रहेको र देशभरमा करिब २०० को हाराहारीमा रहेको जानकारी दिनु भयो । उहाँले यसबाट करिब १० हजारले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाएको दबी गर्दै आफूहरुको समस्यामा सहजीकरणका लागि राज्यका निकायलाई अनुरोध गर्नु भयो । सो अवसरमा तारालाल देवकोटा, विष्णुहरि लामिछानेलाई सम्मान समेत गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend