सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अपांगता भएका व्यक्तिका लागि सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्वः देउवा

अपांगता भएका व्यक्तिका लागि सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्वः देउवा

शेरबहादुर देउवा । फाइल तस्बिर

१८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी विकासको प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व भएको बताउनु भएको छ ।

 

 

अपांगता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो । देउवाले कांग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको उल्लेख गर्नु भयो ।उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन कांग्रेस सदैव प्रतिबद्ध रहेको बताउनु भयो ।

 

 

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपांगता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उहाँले उल्लेख गर्नु भएको छ ।

 

 

‘अपांगता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ’, सभापति देउवाले उल्लेख गर्नु भएको छ, ‘यस अवसरमा, अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवाला बीच एकता र सहकार्यको खाँचो छ।’

 

उहाँले कांग्रेसले अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारमा निरन्तर योगदान गर्दै आइरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउने उल्लेख गर्नु भयो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend