२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपत्यका मेयर्स फोरमका पदाधिकारी बीच भेटघाट भएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा ओलीले केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।
‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनुहुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’
फोरमका पदाधिकारीले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend