४ असार, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले हिमाल, पहाड र मधेसको ऐक्यवद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको भए पनि संघीयता विरोधीले भविष्यमा गर्न सक्ने षड्यन्त्रलाई पराजित गर्नका लागि सचेत रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन । उनले एकताको राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीमाथि दरिलो झापड प्रहार गरेको बताए ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित ठूलो संख्याले जसपालाई कमजोर गरेर संघीयतालाई समाप्त पार्ने मानसिकता बोकेकालाई दरिलो झापड दिएको बताए ।
संघीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम लगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुरधाम महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकुलता, सत्ता पक्षको षड्यन्त्रका बीच समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भएको दाबीसमेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend