२० जेष्ठ,काठमाडौं । एनएमसी एग्रो फर्म मेचीनगर १४, दुवागढीमा सरोकारवाला निकायले औपचारिक कार्यक्रम गरि संयुक्त रुपमा विश्व दूध दिवस मनाएका छन् ।झापामा आयोजित मुल समारोह कार्यक्रममा कृषि, पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने उनले बताएकी हुन् ।
प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र वस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् । प्रदेश मन्त्रालयका सचिव लेखराज दाहालले देशमा दुधको उत्पादन बढेको जनाउँदै यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताए ।
दुग्ध विकास संस्थानका निमित्त राजेन्द्र अधिकारीले भण्डारमा रु एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उल्लेख गरे । दुग्ध विकास बोर्ड सदस्य एवं नेपाल डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियाले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने र यसको विदेश निर्यात अपरिहार्य भइसकेको कुरा राखे ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले दुधबाट बनेका वस्तुहरू निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने र यसको लागि कोशी प्रदेश सरकारले गरेको सहयोग प्रशंसनिय रहेको उल्लेख गरे । किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिइनु पर्ने कुरा सिडिक्यानका अध्यक्ष अमर कुँवरले बताए ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक एवं कार्यक्रमका सभापति डा बालक चौधरीले सरोकारवाला सबैलाई धन्यवाद दिंदै बोर्ड जहिले पनि दुग्ध क्षेत्रको विकास र प्रबर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित करिब एक हजार जनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो ।
कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो भने उत्कृष्ट उद्योगको रुपमा झापाको एनएमसी डेरी र काभ्रेको गल्फु बिनायक डेरी सम्मानित भएका थिए । अन्य सम्मानितमा कामधेनु सहकारी सुनसरी , पिठुवा दुग्ध सहकारी चितवन, सिमदेवी पशुपालन सहकारी तेह्रथुम, विशेष सम्मान प्रो। डा। भेषराज भण्डारी, किसानको तर्फबाट राजकुमार तामाङ र विज्ञान बस्नेत छन् ।
राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा। बालक चौधरीको सभापतित्व तथा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहको प्रमूख अतिथिमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्य मन्त्री मूख्य सिर्जना राई, मेची नगरपालिका प्रमूख गोपाल चन्द्र बुढाथोकी, उपप्रमूख मीना पोखरेल, कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहाल, पशुसेवा विभाग उपमहानिर्देशक डा।विनय कुमार कर्ण, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवर, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास वोर्डका बोर्ड सदस्य सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजुमार दाहाल, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, एनएमसीका संस्थापक रामचन्द्र उप्रेती, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, केन्द्रिय सदस्य मनोज यादब, योगेन्द्र चिमरिया, अशेष बुढाथोकी, कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्का, एनएमसीका अध्यक्ष ठाकु प्रसाद सिवाकोटी, सिईओ लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन कार्यालय काठमाडौंका उपसचिव रेशमराज ज्ञावली, एनएसएल आईपीका बैकुण्ठ अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्र अधिकारी, कृषि सहकारी मन्त्रालय डा। दीपा दिवाली, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका शितल भट्टराई, राष्ट्रिय दुग्ध विकास वोर्डका अधिकृत एवं कर्मचारीहरु लगायत दुग्ध उद्योगीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend