खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन्।
बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्ताराष्ट्रिय बजारमा निर्भर रहेको बताए ।
स्वास्थ्यमन्त्री यादवले वार्षिक रूपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुकभित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए। उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशतमाथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए।
उनले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसका लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिन्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिन्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए।
उनले नेपाली बजार र नेपाली उपभोक्ता, स्वास्थ्य संस्था र अस्पतालमा फरच्युना सिरिन्जलाई पहिलो प्राथमिकता दिने बताए। उनले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताए। उनले स्वास्थ्य उपकरण सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend