खबरब्रेकिंग,काठमाडौं, फागुन १५। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विश्वव्यापी रुपमा जटिल अवस्थामा रहेको लागुऔषध दुव्यर्सनीका कारण राज्यले ऊर्जाशील युवा जनशक्ति गुमाउने खतरा रहेकाले यसको नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेको बताएका छन ।
टोखा नगरपालिका र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आयोजना गरेको ‘लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना गीति वृत्तचित्र विमोचन’ कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन । उनले सबैको घरमा प्रहरी पुग्न नसक्ने भएकाले लागुऔषध दुर्व्यसन नियन्त्रणमा घरपरिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताए।
कतिपय अभिभावकले आफ्ना छोराछोरीले गरेको गल्ती लुकाउन खोज्दा समस्या हुने गरेको महानिरीक्षक कुँवरको भनाइ थियो। नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अगाडि बढ्न खोजेको उनले बताए।
उनले नेपाल सरकारले विभिन्न समयमा लागुऔषधसम्बन्धी बनाएका कानुन कार्यान्वयनमा नेपाल प्रहरी सधैँ लागिरहेको बताए। प्रहरीको ७७ वटै जिल्ला कार्यालय र मुद्दा चल्ने कार्यालयबाट यसको नियन्त्रणका लागि काम भइरहेको उनको भनाइ थियो।
लागुऔषधमा फसेको जनशक्तिलाई पहिलेकै अवस्थामा ल्याउनका लागि प्रहरीले विभिन्न पुनःस्थापना केन्द्रमार्फत काम गरिरहेको महानिरीक्षक कुँवरले बताए । लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि स्थानीय तहको योगदान महत्वपूर्ण रहने उनले बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लागुऔषध नियन्त्रणका लागि घरघर र विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले टोखा नगरपालिकाभित्र लागुऔषध दुर्वयसनी नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गरेर यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले नेपालमा लागुऔषध दुव्यर्सनको अवस्था भयावह रहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीसँगै अभिभावक, परिवार, स्थानीय तहलगायत महत्वपूर्ण भूमिका रहेको बताए ।
टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसीले लागुऔषधलाई स्थानीय तहबाटै नियन्त्रण गर्नका लागि टोखा नगरपालिका लागिरहेको बताए। टोखाले स्थानीय तह, विद्यालय र क्लबबाट लागुऔषध नियन्त्रणमा काम गरिरहेको उनको भनाइ थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend