खबरब्रेकिंग,काठमाडौँ पुस २० गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार मतदाता नामावली सार्वजनिक गर्दैछ। आयोगको स्वीकृत कार्यतालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयहरूमा मतदाता नामावली प्रकाशित हुनेछ।
आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। प्रकाशित हुने नामावलीमाथि शुक्रबार नै दाबी–विरोध गर्न सकिने आयोगले जनाएको छ । दाबी–विरोधमाथि छानबिन गरी आयोगले पुस २२ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नेछ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ। उम्मेदवारको मनोनयन दर्ताका लागि आयोगले पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।
पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
सबै प्रदेशमा दुईदुई गरी १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । फागुन २० गते कार्यकाल सकिन लागेका निर्वाचित १९ जना सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend