खबरब्रेकिंग,काठमाडौं, मङ्सिर २७ गते । काठमाडौँ महानगरपालिकाले भोलि बिहिबारदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने घोषणा गरेको छ । बुधबार दिउँसो महानगरले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । उसले सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्च सुर्ती, खैनी, गुट्खा, पानपराग वा मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख गर्दै सो घोषणा गरेको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्ययता कायम राख्न, भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न मङ्सिर २८ गते बाट सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध गरिएको बताए ।
उनले भोलिदेखि महानगरभित्रका सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा त्यस्ता पसल बन्द हुने जस्ता कारबाही हुने जानकारी दिए ।
उनका अनुसार धूम्रपान गरेका सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपियाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइएमा जफत गरी पसल बन्द गरिने छ ।
महानगरले यसका लागि चार क्षेत्रमा दश जनाका दरले नगरप्रहरी परिचालन गरिने जनाएको छ । उनले पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगरप्रहरीले अनुगमन गर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend