सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवाहरू नेतृत्वको दास बने

युवाहरू नेतृत्वको दास बने

प्रताप राना मगर,

खबरब्रेकिंग,काठमाडौं मङ्सिर १८ गते । आज मुलुकको राजनीतिक वातावरण त्यति सहजरूपमा अघि बढ्न सकेको देखिदैन । पुराना राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति गम्भिर बन्न सकेनन् । सत्तास्वार्थको राजनीतिले मुलुक अघि बढन सकेको छैन । आज हामीले देखेका छौं, देश विकासका काम ओझेलमा परेका छन् । अब देश विकास र समृद्धिका लागि अब युवा जुटनुपर्छ । देश बनाउने भनेको युवाले हो । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो भने मुलुकको अवस्था जहाँको त्यही हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै पुराना दलमा बुढा नेताहरूले नै नेतृत्व गर्दै आएका छन् । युवाहरू नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दबाब दिने आँट अहिले सम्म गर्न सकेका छैनन् । आँट र साहसले नै मुलुक बनाउने हो । यो युगको माग हो, समयको माग हो ।

लामो समयदेखिको आन्दोलन, संघर्ष र बलिदानमार्फत देशमा यति धेरै उपलब्धि हासिल भएका छन् । उपलब्धिमाथि कसैले खेलबाड गर्नु हुँदैन र गर्न दिनु हुँुदैन । परिवर्तन ल्याउन धेरैको त्याग, तपस्या र बलिदान छ । नेपालका राजनीतिक दल र तिनका नेताहरू बेलाबेलामा बेइमान हुनाले यी समस्या उत्पन्न भएका हुन् । प्राप्त उपलब्धिलाई संस्थागत विकास गर्ने बाटोतर्फ सबै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नुपर्छ । परिवर्तित अवस्थालाई सबैले जोगाएर राख्नुपर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्या राज्यले सम्बोधन गर्ने नीति कार्यक्रम ल्याउनुपर्छ । नीति ल्याएरमात्र हँुदैन, कार्यान्वयन गर्ने बाटोमा अग्रसर हुनुपर्छ ।

अब परिवर्तनको संस्थागत विकास गरी मुलुक अघि बढ्नुपर्छ । दिगो विकास नै आजको आवश्यकता हो । शक्तिका लागि जे पनि गर्ने, सत्तामा एकपटक बसिसकेपछि त्यहाँबाट बाहिर आउन नखोज्ने प्रवृत्ति र चिन्तनले नेपालको राजनीति थला परेको छ । आमनागरिकमा राजनीतिक दलहरू तथा नेताहरूप्रति विश्वास घट्दै गएको छ । सरकारले गलत काम गरिरहेको छ भने नागरिकले खबरदारी गर्न छोड्नु हुँदैन । सरकार भनेको नागरिकको अभिभावक हो । राज्यप्रति नागरिकहरूले आफ्ना गुनासा राख्न पाउने अधिकार छ । नागरिकहरूको करको सदुपयोग गर्ने काममा राज्य इमानदार बन्नुपर्छ । पारदर्शी र सुशासन कायम गर्ने कुरामा राज्यको ध्यान सधैं केन्द्रित बन्नुपर्छ । आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासन र जवाफदेही सरकार सञ्चालन नै लोकतन्त्रका आधारभूत मूल्य मान्यता हुन् ।

नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो संघर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आम नागरिकले दलहरूलाई साथ र सहयोग गर्दै आएका हुन् । तर, परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आम जनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि दलहरू र तिनका नेताहरू चुकिरहेका छन् । आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश विकासको खाका कोर्नुपर्ने आवश्यकता देखिएको छ । दलहरू मिल्नुबाहेक अर्को विकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भविष्य बर्बाद गरिनु हँुदैन ।
देशको शिक्षा क्षेत्र भयावह छ । हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौं । पढेका र दक्ष भनिएको जनशक्ति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्ने जति खाडी मुलुकलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ । हामीले युवा जोश जागरका साथ काम अघि बढाएनौं भने भोलिको पुस्ताले हामीलाई धिक्कार्ने छ । अब ढिलो नगरौं युवाहरू जुर्मुराऔं । नेपाललाई समृद्धितर्फ अगाडि लैजान पहल गरौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend