शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् छलफल गर्दै

खबरब्रेकिंग,काठमाडौं, भदौ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन् ।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसकेका छन् । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ । बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend