खबरब्रेकिंग,काठमाडौं, भदौ १९ गते ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयतालिका बनाएर काठमाडौंँका सडक सुधार्न सम्बन्धित निकायलाई आग्रह गरेका छन । सडकसँग सम्बन्धित विभिन्न निकायका प्रमुखसँग सोमबार मन्त्रालयमा भएको बैठकमा उनले यस्तो आग्रह गरेका हुन ।
उनले राज्यका निकायहरूबिच समन्वय नहुुँदा उपत्यकाका सडक दुरावस्थामा पुगेको बताए । सडकसँग सम्बन्धित निकायले गरेका लापरबाहीलाई मन्त्रालय टुलुटुल हेरेर बस्न नसक्ने उनले स्पष्ट पारे । मन्त्री ज्वालाले तत्काल सुधारका काम सुरु गर्न मन्त्रालयमातहतका निकायलाई निर्देशनसमेत दिए । उनले भने, “विभिन्न निकायले सडक भत्काउने र नागरिकले दुःख पाउने अवस्था अब मन्त्रालयले हेरेर बस्दैन ।” सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै उनले भने, “तपाई काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन । म अब आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।”
मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकारसम्पन्न बा गमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाई, नेपाल टेलिकमका प्रतिनिधि सहभागी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend