खबरब्रेकिंग, काठमाडौं,साउन १० गते । पछिल्ला वर्षहरूमा गीत सङ्गीतले गाउँ घर परिवेशलाई टपक्कै टिप्न नसकेको आरोप लागिरहेको अवस्थामा ग्रामीण परिवेशलाई छुने गरी ‘धनकुटा धरान’ गीत सार्वजनिक भएको छ । ‘धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरन’ यो गीतले धरानदेखि धनकुटा, सिधुवा, परेवादिन अनि राँकेसम्मलाई समेटेको छ ।
लोक गायक शम्भु राई र गङ्गा गौतमले केही दिन अघिमात्र सार्वजनिक गरेको गीतमा धरान हुँदै धनकुटा काटेपछि परेवादिन हुँदै त्यस परिवेशका कुरालाई गीतले उजागर गरेको छ । सिधुवा बजारदेखि स्कुल पढेका रमाइला क्षण र धनकुटा बजारमा पुगेपछि मात्र बस चढ्दाको अनुभवलाई पनि गीतमा समावेश गरिएको छ ।
‘आमाले हाँडीमा भुटिदिएको मकै पोको पारेर खाँदै विद्यालय गएको दिनलाई सम्झाउने काम गीतले गरेको छ,’ गायिका गौतमले भन्छिन्, ‘राँके मेलामा झरीले चुटेको कुरा पनि गीतमा समावेश छ ।’
जन्मेको ठाउँको स्मरण अनि ऐसेलु खाएको सम्झनालाई गीतमा लयबद्ध गर्ने प्रयास भएको देखिन्छ । वन पाखामा गाइने विरही भाखा अनि चराका चिरिबिरी अर्थात् चरीले गीत गाउँदै गरेका कुरासँगै साँझ बिहानका सिरेटोलाई पनि गीतले समेट्ने प्रयास गरेको छ । गाउँघरमा सबै मिलेर बस्ने गरेको, दुःख सुख, माया प्रेम र स्नेह साटासाट गरेको कुरालाई गीतको माध्यमाबाट साट्ने प्रयास भएको गौतम बताउँछिन् ।
उबेला गाउँमा कोही नयाँ मान्छे आउँदा हुने रमाइलो होस् या कुनै लाहुरे दाइले क्यासेटमा गीत घन्काउँदै हिँड्दाको बाल्यकालीन सम्झना गीतमा गराइएको छ। हाटबजार मेलापात, धनकुटा सिधुवा बजारको तरकारीका कुरा अनि गाउँमै दूध र घिउ खाएका आनन्दलाई गीतले क्षणिक मनोरञ्जन दिन खोजेको छ ।
त्रिवेणी डिजिटल स्टुडियोले बजारमा ल्याएको गीतको शब्द गङ्गा गौतमले लेखेकी हुन् । राजकुमार बगरको सङ्गीतमा तयार भएको गीतको एरेन्ज कमल सौरागले गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend