खबरब्रेकिंग,काठमाडौं, पुस ४ गते । आज एकै पटक विभिन्न ५ वटा संसदीय समितिले बैठक बोलाएका छन् । प्रस्तावित न्यायाधीशहरुको सुनुवाइको निर्णय गर्न संसदीय सुनुवाइ समितिले विहान ११ बजे बैठक बोलाएको छ । बैठकमा प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सम्बन्धी निर्णय गरिने समितिले जनाएको छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रीय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरिवेक्षणका सम्बन्धमा हालसम्म भए गरेका कामकारबाहीका सम्बन्धमा केन्द्रीय बजार अनुगमन समितिसँग छलफल हुने सभापति अबदुल खानले बताए ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे बोलाइएको छ । समितिले फास्ट ट्र्याकको सम्बन्धमा, दार्चुलामा नेपाली सेनाले बनाइ राखेको तुसर पानी—कोठेधार—तिंकर सडकको सम्बन्धमा छलफल गर्ने जनाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने मध्यान्ह साढे १२ बजे बस्दै छ । समितिले सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने जनाएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे बस्ने छ । समितिले छलफलका लागि सहरी विकास मन्त्री सीता गुरुङलाई बोलाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend