खबरब्रेकिंग, काठमाडौं, मङ्सिर १५ गते । राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले एचआईभी संक्रमण दर घटाउन नेपालले सफलता हासिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौति रहेको बताएका छन । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । अहिले पनि समाजमा एचआईभी संक्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकोले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउदै यसको संक्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना बिस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताइन । विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. पापाले नेपालले एचआईभी संक्रमण दर घटाउनमा गरेको काम प्रशंसनिय भए पनि चुनौति बाकी नै रहेको बताइन । कार्यक्रममा राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिव ३० हजार एचआईभी संक्रमित रहेको जानकारी दिदै अवको चुनौति सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिए । यो वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ रहेको बताउदै डा. ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दावी गरे । कार्यक्रम स्वास्थ्य सेवा विभागकी महानिदेशक डा. संगीता मिश्रको अध्यक्षता भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend