२० कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुहुने भएको छ । उहाँले दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल गत सोमबार दोहा पुग्नुभएको थियो। मंगलबार सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्दै उहाँले सामाजिक न्याय, आर्थिक समानता र समावेशी विकासका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।
सम्मेलनका क्रममा आयोजित ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण– गरिबी निवारण, पूर्ण तथा उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेचमा समेत राष्ट्रपतिले आफ्नो विचार राख्नुभएको थियो।
त्यस अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको तर्फबाट दिगो विकासका साझेदारी प्रयासमा सहयोग र सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो।
राष्ट्रपति पौडेलको यो भ्रमणलाई नेपालको सामाजिक नीति र अन्तर्राष्ट्रिय विकास साझेदारी सुदृढीकरणतर्फको कूटनीतिक पहलका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend