१९ कार्तिक, काठमाडौं । नेपालका दुई राजनीतिक शक्ति मितेरी पार्टी नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच ऐतिहासिक एकीकरण भएको छ । दुबै पक्षबीच २०८२ साल कार्तिक १९ गते सम्पन्न समझदारी पत्र अनुसार नयाँ एकीकृत दलको नाम ‘नागरिक सर्वोच्च पार्टी’ राखिएको छ ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार एकीकृत पार्टीका संस्थापक अध्यक्ष मितेरी पार्टी नेपालका अध्यक्ष घनेन्द्र बहादुर बस्नेत हुनेछन् भने कार्यकारी अध्यक्षको जिम्मेवारी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले सम्हाल्नेछन् ।
सम्झौतामा भनिएको छ, “जनतामा निहित देशको सार्वभौमसत्ता तथा जनसंप्रभुताको शासनलाई स्वीकार गर्दै, नेपाललाई अखण्ड हिन्दू अधिराज्यको रूपले पुनःस्थापित गर्ने दिशामा हामी कर्तव्यनिष्ठ रहन्छौं।”
पार्टीहरूबीच भएको समझदारीका मुख्य बुँदाहरूमा समान विचारधाराका राजनीतिक शक्तिसँग परिस्थतीअनुसार सहकार्य र एकीकरणलाई निरन्तरता दिने, केन्द्रमा भएको एकीकरणअनुसार स्थानीय तहसम्म पनि संरचनागत एकीकरण गर्ने, र दुबै पक्षका पदाधिकारीहरूलाई सम्मानजनक तरिकाले यथोचित पदमा पदस्थापना गर्ने व्यवस्था समावेश गरिएको छ।

सम्झौतापत्रका अनुसार हाल निर्वाचन आयोगमा दर्ता नं. ७३ रहेको मितेरी पार्टी नेपालको नाम, चिन्ह र झण्डा अहिलेका लागि यथावत रहनेछ। तर, आगामी महाधिवेशनमार्फत विधान संशोधन गरी पार्टीको नाम आधिकारिक रूपमा ‘नागरिक सर्वोच्च पार्टी’ राखी निर्वाचन आयोगमा पेश गरिनेछ।
सम्झौतामा भनिएको छ, “हामी दुई संगठनबीच सहमति भएअनुसार नयाँ नामाकरण गरिएको नागरिक सर्वोच्च पार्टीका पदाधिकारीहरूको नाम मर्यादाक्रम अनुसार निर्वाचन आयोगमा पेश गरिनेछ।”
डा. तारानाथ लुईटेल र घनेन्द्र बहादुर बस्नेतको संयुक्त नेतृत्वमा गठित यो नयाँ राजनीतिक संरचना राष्ट्र, धर्म, संस्कृतिको संरक्षण र जनसर्वोच्चताको पुनर्स्थापना गर्ने उद्देश्यले अघि बढाइने बताइएको छ।
सम्झौतापत्रमा उल्लेख छ, “नेपाल राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको अखण्ड राष्ट्र निर्माणको भावनालाई अंगिकार गर्दै हामी नेपाली जनताप्रति कर्तव्यनिष्ठ रहँदै कर्मक्षेत्रमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछौं।”
एकीकरणसँगै दुबै संगठनका जिल्ला, प्रदेश र स्थानीय तहका संरचनाहरू क्रमशः एकीकृत गरिने र संगठन विस्तार तथा प्रचारप्रसार कार्य पनि नयाँ पार्टीको नामबाट अघि बढाइने सहमति गरिएको छ।
यस ऐतिहासिक समझदारी पत्रमा मितेरी पार्टी नेपालका अध्यक्ष घनेन्द्र बहादुर बस्नेत र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend