१७ कार्तिक, काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते देशभर भएको ऐतिहासिक जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भएको हो ।
मन्त्री खरेलका अनुसार “जेनजी आन्दोलनका क्रममा काठमाडौंदेखि तराई, पहाड र सुदूरसम्मका युवाहरूले लोकतन्त्र, न्याय र समान अवसरको पक्षमा गरेको बलिदानलाई सरकारले औपचारिक रूपमा स्वीकार गरेको” हो।
उहाँले भन्नु भयो, “राज्यले अब उनीहरूलाई बिर्सने छैन। ती सहिदहरूको सपना पुरा गर्नु नै अब सरकारको जिम्मेवारी हुनेछ।” जेनजी आन्दोलनका क्रममा काठमाडौं, विराटनगर, नेपालगञ्ज, पोखरा, कैलाली, उदयपुर, चितवन लगायतका क्षेत्रमा युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ४५ जनाको मृत्यु भएको थियो। ती घटनाले देशभर ठूलो राजनीतिक र सामाजिक हलचल मच्चाएको थियो।
सरकारले सहिद सूचीमा काठमाडौंका बुद्धिबहादुर तामाङ, उदयपुरका सन्तोष विश्वकर्मा, नेपालगञ्जका सुलभ राज श्रेष्ठ, मोरङका श्रीयम चौलागाईं, कैलालीका गौरव जोशी लगायतका नाम समावेश गरेको छ। बाँकी नामहरू सम्बन्धित जिल्लाबाट प्रमाणित विवरण आएपछि आधिकारिक राजपत्रमा प्रकाशित गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनका मागहरू — रोजगारको अवसर, राजनीतिक सुधार, शिक्षा सुधार, र सरकारी निकायमा पारदर्शिताका विषयमा केन्द्रित थिए। त्यस आन्दोलनले तत्कालीन सरकारलाई नीति पुनर्विचार गर्न बाध्य बनाएको र नयाँ पुस्ताको राजनीतिक चेतनाको पुनर्जागरण गराएको विश्लेषण भइरहेका छन्।
राजनीतिक विश्लेषकहरूले यो निर्णयलाई “राज्यले आफ्ना युवाको आवाजलाई आधिकारिक मान्यता दिएको ऐतिहासिक कदम” भनेका छन्। मानवअधिकारकर्मीहरूका अनुसार सरकारले सहिद घोषणासँगै पीडित परिवारहरूलाई राहत, क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था पनि तत्कालै गर्नुपर्नेछ।
उता, सहिद परिवारहरूले भने सरकारको निर्णयलाई स्वागत गर्दै अब ती बलिदानको अर्थपूर्ण कार्यान्वयनमा जोड दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सहिद बुद्धिबहादुर तामाङका बुबाले भने, “सहिद घोषणा त गरियो, तर अब हाम्रो सन्तानले खोजेको न्याय र परिवर्तन पनि ल्याइदेओस् सरकारले।”जेनजी आन्दोलनपछि नेपाली राजनीतिको केन्द्रबिन्दुमा आएको “युवाको असन्तुष्टि र अवसरको खोज” अझै पनि देशभर प्रतिध्वनित भइरहेको छ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend