१७ कार्तिक, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता रबिन्स शर्माले पार्टीले अब युवाको भावना र चाहना आत्मसात् गर्न नसके गम्भीर संकटमा पर्ने चेतावनी दिनु भएको छ । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उहाँले पार्टीभित्रको निष्क्रियता, ढिलो निर्णय र पुरानो सोचले संगठन कमजोर बन्दै गएको बताउँदै युवाको सामूहिक ऊर्जा नै काँग्रेसको भविष्य निर्धारण गर्ने आधार बन्ने धारणा राख्नुभयो।
शर्माले भन्नुभयो, “पार्टीलाई अहिले पुनर्जीवन दिनको लागि नयाँ सोच, नयाँ उत्साह र नयाँ पुस्ताको नेतृत्व अपरिहार्य छ। हामीले युवाको भावना समेट्न सकेनौं भने काँग्रेसले अबको दशकमा आफ्नो पहिचान नै गुमाउनेछ।” उहाँका अनुसार काँग्रेसले विगतका उपलब्धिलाई मात्र दोहोर्याएर होइन, भविष्यका युवालाई आफ्नो बाटोमा विश्वास दिलाउन सक्नुपर्छ।
उहाँले पार्टीको आगामी महाधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा हेर्दै भन्नुभयो, “चुनाव अघि महाधिवेशन सकिनुपर्छ, त्यसले मात्र पार्टीलाई संगठित ऊर्जा मिल्छ। महाधिवेशन ढिलो हुँदा संगठन भित्र असन्तुष्टि बढ्छ र नेतृत्वप्रति विश्वास कमजोर हुन्छ।” शर्माले समयमै महाधिवेशन नगरे संकट बढ्ने भन्दै नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।
जेन्जी आन्दोलनले उठाएका युवामुखी माग र असन्तुष्टिको विषयमा पनि उहाँले स्पष्ट टिप्पणी गर्नुभयो। “आजको पुस्ताले परिवर्तनको भाषा बोल्दैछ। उनीहरू भ्रष्टाचारविरुद्ध छन्, पारदर्शिता र अवसरको पक्षमा छन्। यी मागहरूलाई पार्टीले सुन्न, बुझ्न र नीतिमा रूपान्तरण गर्न सकेन भने नयाँ पुस्ता काँग्रेसबाट टाढिनेछ,” शर्माले जोड दिनुभयो।
शर्माले अब पार्टी निर्माणको केन्द्रमा युवाशक्ति हुनुपर्नेमा जोड दिंदै भन्नुभयो, “अब सबै युवा शक्ति एक ठाउँमा उभिनुपर्छ। काँग्रेसमा विचार, संगठन र नेतृत्व सबै तहमा पुस्तान्तरणको आवश्यकता छ। पुराना नेताहरूले पनि अब नयाँ पुस्तालाई अघि सार्ने जिम्मेवारी लिनुपर्छ।”
उहाँले लोकतान्त्रिक पार्टीको मूल आत्मा नै प्रतिस्पर्धा, खुलापन र आन्तरिक लोकतन्त्र भएको भन्दै चुनावमा भाग लिन काँग्रेस तयार हुनुपर्नेमा बल दिनुभयो। “लोकतान्त्रिक पार्टीले चुनावबाटै आफ्नो अस्तित्व प्रमाणित गर्नुपर्छ। हामीले जनताको बीचमा जानु पर्छ, उनीहरूको माया र समर्थन जित्नु पर्छ,” शर्माले भन्नुभयो ।
उहाँका अनुसार अहिलेको काँग्रेस नेतृत्वले युवाको भावनालाई सही दिशामा प्रयोग गर्न सके भने पार्टी फेरि जनताको पहिलो रोजाइ बन्नेछ। “काँग्रेसमा अद्भुत सम्भावना छ — तर त्यो सम्भावना तिनै युवाहरूले खोल्ने हुन् जसले परिवर्तनमा विश्वास गर्छन्,” उहाँले भन्नुभयो।
शर्माको भनाइले पछिल्लो समय पार्टीभित्र चलिरहेको आन्तरिक बहसलाई थप गतिशील बनाएको छ। काँग्रेसभित्रका धेरै युवा नेताहरूले समेत समयमै महाधिवेशन र संगठन पुनर्गठनको माग उठाइरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend