सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा

काठमाडौं, कात्तिक १५ गते । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो ।

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ । एकातिर चाडवाडपछि बिरामीका आफन्तहरु रगत खोज्न भौंतारिनुपरेको छ भने अर्कातिर अप्रेसन गर्नुपर्ने बिरामीको पनि रगत अभावका कारण समय लम्बिने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले चाडवाडमा रक्तदाताहरु उपत्यका बाहिर गएको हुनाले प्रत्येक वर्ष रगतको अभाव हुने बताए । रगतको अभाव हुन नदिन प्रत्येक ३ महिनामा रगत दिनुपर्छ भन्ने जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ ।

त्यसै गरी नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुस्त व्यवस्थापनका कारण रगतको अभाव देखिएको बताए । तर, नेपाल सरकारको निर्णयअनुसार रगतको व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटीले गर्ने रहेको प्रयोगशाला प्रमुख झाले बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको अनुसार लगभग उपत्यकाको माग ४ देखि ५ सय युनिट रहे पनि अहिले ३ सय युनिट मात्र रगत उपलब्ध रहेको छ । समाजका अध्यक्ष कर्माचार्यले चिकित्सकको अनावश्यक रगत मागका कारण पनि रगत अभाव हुने गरेको बताए ।

उनले १ युनिट रगत बिरामीलाई दिन ५ घण्टा लाग्ने गरे पनि डाक्टरले अनावश्यक रुपमा ४ पाउन्डसम्म रगत जम्मा गर्न लगाउने गरेको बताए । अध्यक्ष कर्माचार्यले रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान अभियान थाल्न अनुरोध गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend