१४ कार्तिक,काठमाडौँ । नेपाल लिबरल पार्टीका अध्यक्ष डा. गोपीलाल न्यौपानेले देश अब शान्तिपूर्ण ढंगले अघि बढ्नुपर्ने बताउँदै नयाँ आर्थिक र राजनीतिक सोचको आवश्यकता औंल्याउनुभएको छ । उहाँले अबको राजनीतिले ढुंगा हान्ने होइन, बुद्धि भएका मान्छे खोज्ने समय आएको स्पष्ट सन्देश दिनुभएको हो ।
एक एफएममा आयोजित अन्तर्वार्तामा बोल्दै अध्यक्ष न्यौपानेले विगतको अर्थतन्त्र असफल भइसकेको र अब पूँजीवादी क्रान्तिबाट मात्र देशमा दीगो परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँका अनुसार, पुरानो आर्थिक ढाँचा जसले देशलाई निर्भरता र बेरोजगारीको दलदलमा पुर्यायो, त्यो अब काम लाग्दैन । “हिजोको अर्थतन्त्र असफल भयो । अब नयाँ ढंगले जानु पर्छ । हामीले खुट्टाले टेक्ने अर्थतन्त्र खोजेका छौं, मोन्टाले टेक्ने होइन,” उहाँले भन्नुभयो ।
डा. न्यौपानेका अनुसार नेपाल लिबरल पार्टीको मूल राजनीतिक लाइन नै “व्यावहारिक पूँजीवाद” हो — जसले देशका श्रमिक, सीपवान युवाहरू र लगानीकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग गर्छ । उहाँले भन्नुभयो, “हामी पूँजीवादी क्रान्तिको सुरुवात गर्न चाहन्छौं । यसले देशमा रोजगारी सिर्जना गर्छ, बेरोजगारी घटाउँछ, उत्पादन बढाउँछ र दीर्घकालमा आयात–निर्भरता घटाउँदै देशलाई आत्मनिर्भर बनाउँछ ।”
उहाँले हालको राजनीतिक प्रतिस्पर्धालाई आरोप–प्रत्यारोप, आन्दोलन र सडककेन्द्रित प्रवृत्तिबाट माथि उठाएर विचार–आधारित प्रतिस्पर्धा बनाउनु पर्नेमा जोड दिनुभयो । “राजनीति अब जनताको मुद्धा समाधान गर्ने थलो हुनुपर्छ, झगडा र विभाजनको होइन । देशमा क्षमता र बौद्धिक नेतृत्वको आवश्यकता छ,” उहाँले बताउनुभयो ।
डा. न्यौपानेले नेपाल लिबरल पार्टीको दीर्घकालीन दृष्टिकोण स्पष्ट पार्दै भन्नुभयो, “हामी यथार्थमा खुट्टा टेक्ने अर्थतन्त्र खोज्दैछौं । नेपालले अब आयातमा होइन, उत्पादनमा भरोसा गर्नुपर्छ । हामी कृषिलाई आधुनिक बनाउँदै उद्योगलाई जोड्ने, र युवा शक्ति र उद्यमशीलतालाई देशभित्रै उपयोग गर्ने मोडेलमा काम गर्दैछौं ।”
अन्तर्वार्ताका क्रममा उहाँले पूँजीवादी क्रान्ति भन्ने अर्थ ‘धनी वर्गको हितमा होइन, श्रम र सीपको मूल्य बढाउने, निजी लगानी र सरकारी नीतिको सन्तुलन गर्ने’ सोच भएको बताउनुभयो । “यो विदेशी लगानीको अन्ध–पछ्याउने पूँजीवाद होइन, नेपाली माटोमा उभिएको उत्पादनमुखी पूँजीवाद हो,” उहाँको भनाइ थियो ।
डा. न्यौपानेले अहिलेको राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै देशमा नयाँ पुस्ताले वैचारिक नेतृत्व लिनुपर्ने पनि बताउनुभयो । उहाँका अनुसार, पुराना राजनीतिक दलहरू जनताको भावना बुझ्न असफल भइरहेका छन्, जसले गर्दा आम नेपालीमा निराशा र अविश्वास बढेको छ । “हामी निराशालाई आशामा रूपान्तरण गर्न चाहन्छौं । राजनीति अब बुद्धि र योजनाको खेल हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।
नेपाल लिबरल पार्टीले हाल विभिन्न जिल्लामा संगठन विस्तार र आर्थिक मोडेलबारे छलफल सञ्चालन गरिरहेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अब भावनाले होइन, विवेकले नेतृत्व गर्नुपर्छ । शान्तिपूर्ण र उत्पादक राजनीतिबाट मात्र देश अगाडि बढ्छ । हामी त्यसको अभियानमा छौं , नेपाल लिबरल पार्टीले देशलाई व्यावहारिक, आत्मनिर्भर र बुद्धियुक्त दिशातर्फ लैजाने प्रण लिएको छ ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend