आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री सुशीला कार्कीबाट कमलपोखरीमा छठीमाईको पूजा सम्पन्न

प्रधानमन्त्री सुशीला कार्कीबाट कमलपोखरीमा छठीमाईको पूजा सम्पन्न

 

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौंको ऐतिहासिक कमलपोखरीमा पुगेर छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाईको पूजा आराधना गर्नु भएको छ ।

सोमबार अपरान्ह कमलपोखरीमा आयोजित विशेष धार्मिक समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले परम्परागत विधिअनुसार पूजा आराधना गर्दै देशमा शान्ति, समृद्धि र सद्भावको कामना गर्नु भएको थियो । छठ पर्वको मूल भावना आत्मशुद्धि, आस्था र प्रकृतिप्रतिको कृतज्ञता रहेको बताउँदै प्रधानमन्त्री कार्कीले यस पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्नु भयो ।

प्राचीन कालदेखि सूर्य देवताको आराधना गरी मनाइँदै आएको छठ पर्व नेपालमा बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ। विशेष गरी तराई–मधेस क्षेत्रमा व्यापक रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि समान उत्साहका साथ मनाइँदै आएको छ।

काठमाडौंको कमलपोखरीमा पछिल्ला नौ वर्षदेखि छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ। यस वर्षको कार्यक्रममा प्रधानमन्त्री कार्कीको सहभागिताले कार्यक्रममा विशेष आकर्षण थपेको छ।

कार्यक्रममा स्थानीयवासी, भक्तजन, सुरक्षाकर्मी र उच्चपदस्थ सरकारी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। भक्तजनहरूले अस्ताउँदो सूर्यलाई दूध, जल र विभिन्न प्रसादसहित अघ्र्य अर्पण गरी छठीमाईको आराधना गरेका थिए।

कमलपोखरी वरपर झिलमिल बत्ती, फूलमालाले सजाइएको थियो भने भक्तजनहरू पारम्परिक भेषभूषामा देखिन्थे। कार्यक्रममा महिला भक्तिनीहरूले लोकधुनमा आधारित भक्ति गीत गाएर धार्मिक माहोल झनै मनोहर बनाएका थिए।

प्रधानमन्त्री कार्कीले छठ पर्वलाई राष्ट्रिय एकताको पर्वका रूपमा सम्मानपूर्वक मनाउन सबै नागरिकलाई आह्वान गर्दै “सूर्यको उज्यालो जस्तै देशको भविष्य पनि उज्यालो बनोस्” भन्ने कामना गर्नु भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend