१० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम, विशेषगरी उद्घाटन र शिलान्यासका कार्यक्रममा निमन्त्रणा नदिन आग्रह गर्नुभएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै मन्त्री पुनले स्पष्ट रूपमा भन्नुभयो — “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला।”
उहाँले आफ्नो सम्पूर्ण समय देश र जनताको काममा खर्चिन चाहेको जनाउँदै, अनावश्यक औपचारिकता र दिखावटी समारोहहरूमा समय खर्च गर्न नचाहेको प्रष्ट पार्नुभएको छ ।
मन्त्री पुनले हालै सम्पन्न युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा र ब्रिटिश काउन्सिलद्वारा नाइजेरियामा आयोजना गरिएको सम्मेलनमा पनि आफू नगएको जानकारी दिनुभएको छ । उहाँका अनुसार, मन्त्रीहरू विदेश जानु परे पनि त्यो अत्यावश्यक र नगई नहुने बैठक वा कामका लागि मात्रै हुने बताउनुभयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend