८ कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रबिन्स शर्माले देशको राजनीतिक, नीतिगत र संस्थागत संरचनामा गहिरो आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याउँदै अब नेतृत्व मात्र हैन, नीति र एजेण्डा पनि फेरिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
शर्माले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको विचारमा २०४६ सालको जनआन्दोलनपछि प्राप्त संविधान र त्यसपछिका राजनीतिक उपलब्धिहरू जनताले आत्मसाथ गर्न नपाएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “२०४६ को जनआन्दोलनपछि २०४७ को संविधान सबै नागरिकले आत्मसाथ गरे तर पूर्ण उपलब्धिको अनुभूति गर्नै नपाई २०५२ मा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । फेरी २०६२/६३ को माओवादीसहितको जनआन्दोलनपछि इतिहासमा विरलै हुने गरी दुई–दुई पटक संविधान सभा निर्वाचन गरी लामो रस्साकस्सीपछि बनाएको संविधान पनि आलोचनात्मक रूपमा बाहेक आत्मसाथ हुन सकेन ।”
राजनीतिक अस्थिरता, दलगत स्वार्थ र कमजोर कार्यान्वयन प्रणालीका कारण संविधानले परिकल्पना गरेको समावेशी र स्थायी राज्य संरचना अझै व्यवहारमा नआएको बताउँदै शर्माले देशको वर्तमान अवस्थाले नेतृत्व मात्र होइन, नीतिको दिशामै पुनरावलोकन गर्नुपर्ने संकेत दिएको उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, “तसर्थ नेता मात्र हैन नीति पनि फेरौं, एज मात्र हैन एजेण्डा पनि हेरौं। ढिला नगरौं, पार्टीहरूको विधान र देशको संविधानमा कहाँ–कहाँ कमी कमजोरी छन्, आत्मसमीक्षा गरौं। राष्ट्रिय शक्तिहरूको पहिचान र सम्मानसहित परिचालन गरौं।”
देशभित्रको आशा मरेर विदेश पलायन भएका युवाहरूलाई फर्काउने वातावरण बनाउनुपर्ने बताउँदै उहाँले सबै राजनीतिक दल र नेताहरूले ‘सबै जीत्ने, सबै खुसी हुने र सबैको आत्म–सम्मान हुने काम’मा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
“आफ्नै देशभित्र आशा मरेर विदेश गएका युवाहरू र ‘नेपाल हामी सपार्छौं’ भन्ने युवाहरूको चाहनालाई सम्मान गर्दै समृद्ध नेपाल निर्माण गर्ने हातहरू मिलाऔं। यो देश हाम्रै हो, यस देश निर्माण गर्ने गहिरो जिम्मेवारी हाम्रै हो,” शर्माले लेख्नुभएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend