काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले नेपाली काँग्रेसले आफ्नो विधानमै राजसंस्था र वैदिक सनातन हिन्दू राष्ट्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले यस्तो कदमले मात्र देशको अस्तित्व र राष्ट्रिय एकता जोगाउन सकिने दाबी गरेका छन् ।
अध्यक्ष लुईटेलका अनुसार, वर्तमान राजनीतिक व्यवस्थाले देशलाई अस्थिरता, नैतिक पतन र राष्ट्रिय विभाजनतर्फ धकेलेको छ । उनले भने, “काँग्रेसले आफ्नो मूल विचार र ऐतिहासिक जिम्मेवारी बिर्सियो भने देशको सार्वभौम अस्तित्व नै जोखिममा पर्न सक्छ । राजसंस्था र वैदिक सनातन मूल्य परम्परा नेपालको मौलिक पहिचान हुन्, त्यसलाई बिधानमै पुनर्स्थापना गर्नु अहिलेको आवश्यकता हो ।”
उनले हालको राजनीतिक परिस्थितिमा दलहरूले जनभावना र राष्ट्रिय पहिचानको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “देशमा अस्थिरता र भ्रम फैलिरहेको छ, यसलाई अन्त्य गर्न काँग्रेसले राष्ट्रवादी भूमिकाबाट अघि बढ्न जरुरी छ,” लुईटेलले भने ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले हालै देशव्यापी छलफलमार्फत संविधान संशोधनको आवश्यकता औंल्याउँदै, राष्ट्रिय हितका प्रश्नमा सहमति जुटाउन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend