२ कार्तिक,काठमाडौँ । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक विष्णु प्रसाद शर्माले सामाजिक सञ्जालमार्फत देशको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानमा बाह्य शक्तिको गहिरो हस्तक्षेप भएको चेतावनी दिएका छन् । उनले नेपालको आन्तरिक मामिलादेखि राजनीतिक निर्णयसम्ममा विदेशी शक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष दबाबले देशलाई ठूला देशहरूको तप्केनीमा परिणत गरेको आरोप लगाएका छन् ।
उनका अनुसार, १९५० को भारत–नेपाल सन्धी, कोशी र गण्डकजस्ता परियोजनाहरू, र पछिल्ला राजनीतिक घटनाक्रमहरू समेत आजको साम्राज्यवाद र उपनिवेशवादका रूप हुन् । उनले विदेशी समर्थन र धनबलको प्रयोग गरेर दलहरूलाई जिताउने र त्यसपछि उनीहरूबाट आफ्नो स्वार्थ अनुसार काम गराउने गतिविधिलाई “घृणित हस्तक्षेप” भनेका छन् ।
शर्माले लेखेका छन्, “शक्तिको माध्यमले सानो तर विकासोन्मुख राष्ट्रलाई अगाडि बढ्न नदिनु, र उसलाई परनिर्भर बनाइराख्नु अधिनायकवादको पराकाष्ठा हो । नेपाल जस्तो धार्मिक र सांस्कृतिक रूपमा पवित्र राष्ट्र आज भारत र पश्चिमी देशहरूको स्वार्थी जालमा फस्दै गएको छ ।”
उनले नेपालभित्रका केही दलहरूलाई नै विदेशी स्वार्थको माध्यम बनेको आरोप लगाउँदै भनेका छन्, “नेपाललाई अपहेलित र परनिर्भर बनाउने कार्य देशभित्रैका दलका नेताहरूबाट हुँदै आएको हो ।”
सन् १९४७ पछि मात्र भारतको स्थापना भएको उल्लेख गर्दै उनले भारत र नेपालबीचको सम्बन्धलाई “भाइचाराको सम्बन्ध” भने पनि, भारतले नेपालप्रति समान दृष्टिकोण अपनाउन नसकेको बताए । उनले भनेका छन्, “भारत, हिन्दुस्थान र इण्डियालाई फरक अर्थमा बुझ्नुपर्छ । भारत नयाँ देश हो, जुन विदेशीहरूले बलपूर्वक निर्माण गरेर दिएको हो ।”
नेपाल र भारतबीच भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय र आर्थिक सामीप्यता रहे पनि भारतले ती सम्बन्धलाई सहकार्यको आधार होइन, प्रभावको साधनका रूपमा प्रयोग गरेको उनले आरोप लगाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend