१ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइटेल र नेपाल जनता पार्टीका अध्यक्ष त्रिभुवन पाठकबीच आज नयाँ बानेश्वरस्थित अगेनो रेष्टुरेन्टमा महत्वपूर्ण राजनीतिक वार्ता सम्पन्न भएको छ । दुबै नेताबीच भएको छलफलले नयाँ राजनीतिक समीकरणको संकेत दिएको बुझिएको छ ।
वार्तामा दुई पार्टीबीच समान विचार, उद्देश्य र राष्ट्रिय राजनीतिक परिस्थितिमा देखिएको अस्थिरतालाई सम्बोधन गर्ने साझा दृष्टिकोणबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ । दुबै पक्षले देशमा देखिएको दलदल, भ्रष्टाचार, बेरोजगारी, र जनअपेक्षाअनुरूपको नेतृत्व अभावका विषयमा चिन्ता व्यक्त गर्दै अब वैकल्पिक शक्तिको आवश्यकता तीव्र रूपमा महसुस भएको बताएका छन् ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले खबरब्रेकिंगसँग कुरा गर्दै वार्ता सकारात्मक दिशामा अघि बढेको जानकारी दिएका छन् । उनका अनुसार, “आजको छलफल निकै उपयोगी र फलदायी रह्यो । केही मूल विषयमा सहमति भइसकेको छ, बाँकी विषय टुंग्याउन फेरि छलफल बस्ने सहमति भएको छ,” अध्यक्ष लुइटेलले बताए ।
नेपाल जनता पार्टीका अध्यक्ष त्रिभुवन पाठकले पनि वैचारिकरूपमा दुबै दल नजिक रहेको उल्लेख गर्दै अब राष्ट्रिय हितका लागि एउटै संस्थागत रूप दिने तयारी भइरहेको बताएका छन् । उनले भने, “हामीबीच वैचारिक दूरी छैन, संगठनात्मक एकता र साझा एजेण्डामा सहमति बनेपछि नयाँ विकल्पका रूपमा जनता सामु अघि बढ्नेछौं ।”
पछिल्ला दिनमा देशमा देखिएको राजनीतिक अस्थिरता, पुराना दलप्रतिको जनअविश्वास र नयाँ नेतृत्वको खोजीबीच यी दुई दलबीचको एकता प्रयासलाई राजनीतिक वृत्तले विशेष अर्थका साथ हेरेको छ । विश्लेषकहरूले यो एकता प्रयासले देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ नयाँ सम्भावना खोल्ने अपेक्षा व्यक्त गरेका छन् ।
स्रोतका अनुसार, आगामी वार्तामा दुबै दलका केन्द्रीय पदाधिकारीहरू सहभागी हुनेछन् र नीतिगत तथा संगठनात्मक संरचनाबारे ठोस सहमति हुने सम्भावना छ । यदि सहमति टुंग्याइयो भने, चाँडै नै दुबै दलले संयुक्त पत्रकार सम्मेलन गरी नयाँ पार्टीको घोषणा गर्ने तयारीसमेत गरेको बुझिएको छ ।
वार्ताको वातावरण सौहार्दपूर्ण रहेको र राष्ट्रिय पुनर्निर्माण, सुशासन, र जनमुखी राजनीतिक अभ्यासलाई मुख्य एजेन्डा बनाउने विषयमा दुवै दल सहमत भएको बताइन्छ ।
नेपालको राजनीति फेरि एकपटक नयाँ समीकरणतर्फ उन्मुख भइरहेको बेला लुइटेल–पाठक भेट र एकताको सम्भावनाले आगामी राजनीतिक परिदृश्यमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend