२९असोज, काठमाडौं । हिन्दुवादी अभियान्ता प्रदीप विक्रम राणाले देश र राष्ट्रियताका सवालमा दृढ सन्देश दिंदै नेपाल र नेपालीको अस्तित्व एकआपसमा अविच्छिन्न रूपमा जोडिएको बताएका छन् । राणाले आज खबर ब्रेकिंग डटकम संग कुरा गदै यस्तो बताएका हुन ।
राणाले भनेका छन् — “यो देश रहे मात्र हामी नेपाली रहन्छौं, नेपाल नै नरहे केको राजनीति ? आफनो स्वार्थको रोटी सेकाउने दाउ कसैले नगरौं । देशमा शान्ति कायम गरौं र विकास गरौं, जनताले खोजेको यही हो ।”
उनले अहिलेको राजनीतिक अवस्थालाई आत्मचिन्तनको समय भन्दै राजनीतिक दलहरू र नेताहरूले देश र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । देशलाई व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्तिको कडा आलोचना गर्दै उनले सबै पक्षले मिलेर “देश जोगाउने र बनाउने” अभियानमा आत्मसमर्पित हुनुपर्ने धारणा राखेका छन् ।
राणाले विशेष गरी नयाँ पुस्तालाई लक्षित गर्दै भनेका छन् — “जेन्जी पुस्ताका मागलाई सम्बोधन गर्ने र देश त्यही अनुसार चलाउने संकल्प सबैले गरौं ।” उनका अनुसार नयाँ पुस्ताको सोच, क्षमता र नविन दृष्टिकोणलाई राज्य निर्माणको मुख्य आधार बनाउन सके मात्र देशको भविष्य उज्यालो बन्नेछ ।
भ्रष्टाचार, असमानता र निष्क्रिय शासन व्यवस्थाले देशलाई पछाडि धकेलेको भन्दै उनले “भ्रष्टाचार अन्त्य गरौं, सुशासन कायम गरेर देशको विकास गरौं” भन्ने आह्वान गरेका छन् । उनका अनुसार, नेपालले विकास र स्थायित्व खोज्दै गर्दा प्रमुख चुनौती नै नीतिगत अस्थिरता र नेताहरूको स्वार्थपरायणता हो ।
राणाको सन्देशले देशभक्त र राष्ट्रवादी सोच बोकेका युवा तथा आम नागरिकबीच ठूलो चर्चा पाएको छ । सामाजिक सञ्जालमा उनका भनाइहरू व्यापक रूपमा सेयर हुँदै गएका छन् । धेरैले उनको सन्देशलाई देशभक्तिपूर्ण, समयानुकूल र वास्तविक समस्यामा केन्द्रित आवाजका रूपमा स्वागत गरेका छन् ।
उनले अन्त्यमा भनेका छन् — “राजनीति देशको सेवा हो, स्वार्थको साधन होइन । जो साँचो अर्थमा देशको हितमा काम गर्छ, ऊ नै साँचो नेता हो । हामी सबैले नेपालको अस्तित्व र गौरवको रक्षा गर्न आफ्नो आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनैपर्छ ।”
प्रदीप विक्रम राणाको यो सन्देश अहिलेको अस्थिर राजनीतिक परिस्थितिमा राष्ट्रिय एकता, सुशासन र साझा जिम्मेवारीको भावना जगाउने सशक्त आह्वानका रूपमा लिइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend