२८ असोज, काठमाडौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक विष्णु प्रसाद शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत एक राष्ट्रप्रेममूलक सन्देश सार्वजनिक गर्दै नेपाली इतिहास, राष्ट्रियता र शाहवंशीय परम्पराबारे गहिरो भाव व्यक्त गरेका छन्। उनले राष्ट्रप्रेम, एकता र स्वाभिमानको पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने आव्हान गर्दै देशविरोधी दलिय स्वार्थका विरुद्ध सचेत रहन आग्रह गरेका छन्।
शर्माले लेखेका छन्, “पृथ्वीनारायण शाह नेपाल र नेपालीका चिरस्मरणीय तथा आदरणीय व्यक्तित्व हुन्। उहाँको योगदानलाई इतिहासले मात्र होइन, भावी पुस्ताले पनि सधैं सम्मान गर्दै जानेछ।” उनले शाहवंशीय राजाहरूलाई पूजनीय र अतुलनीय भनी उल्लेख गर्दै समयले नै उनीहरूको राष्ट्रनिर्माणमा गरेको योगदान प्रमाणित गरिसकेको बताएका छन्।
उनले आफ्नो सन्देशमा दलिय व्यवस्थाले नेपालमा राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोप लगाउँदै भनेका छन्, “नेपालको शत्रु अरू कोही होइन, दलियता नै हो भन्ने कुरा विगत र वर्तमान दुबै समयले प्रमाणित गरिसकेको छ।” शर्माले नेपाली जनताले अब विभाजनकारी राजनीति होइन, राष्ट्रिय स्वाभिमानको राजनीति रोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
भारत र अन्य विदेशी शक्तिहरूले नेपालमाथि विभिन्न माध्यमबाट हस्तक्षेप गर्ने प्रयास गर्दै आएको बताउँदै उनले लेखेका छन्, “भारतको ‘र’ ले नेपाललाई सधैं दु:ख दिइरहेका छन्। नेपालभित्रै रहेका केही दलका नेताहरू विदेशी स्वार्थका लागि काम गरिरहेका छन्, जसको छानबिन नेपाली जनताले नै गर्नुपर्ने समय आएको छ।” उनले बेलायत र भारत दुबैसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराउँदै पनि चेतावनी दिए — “नेपालले सधैं सहयोग र मित्रताको भाव राख्दै आएको छ, तर यदि भारतले नेपालको भावनाको कदर गर्न सकेन भने त्यो उसको आफ्नै नोक्सान हुनेछ।”
शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पनि समर्थन व्यक्त गर्दै भनेका छन्, “नेपालका जनताले राजामा गुण देखेका छन्, र राजा पुनः स्थापित हुनेछन् — यो यथार्थलाई सबैले बुझे राम्रो हुन्छ।” उनले भारतलाई नेपालको प्राकृतिक स्रोत, विशेषगरी पानीको मूल्य र नेपालीहरूको त्यागको कदर गर्न सुझाव दिएका छन्।
उनले नेपाली जनतालाई आह्वान गर्दै भनेका छन्, “नेपाल र नेपालीको आत्मसम्मानको रक्षा गर्नु हामी सबैको दायित्व हो। बाहिरी शक्तिहरूको इसारामा देशभित्र असन्तुष्टि फैलाउनेहरूलाई समयमै सचेत गराउन आवश्यक छ।”
अन्त्यमा संयोजक शर्माले नेपालको असल छिमेकीको हैसियतमा भारतले इमानदार सम्बन्ध कायम गर्नुपर्ने र दुवै देशबीचको सम्बन्ध पारस्परिक सम्मान र समानताको आधारमा रहनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “नेपाल असल छिमेकी हो, मन सफा राखेर बुझियो भने दुई देशबीचको मित्रता झनै मजबुत र गाढा हुनेछ। जय देश, जय नरेश।”
शर्माको यो सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ, जसले राष्ट्रियता, स्वाभिमान र राजसंस्थाप्रतिको भावना पुनः जीवित पार्न प्रेरणाको स्रोत बनेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend