२८ असोज, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा ठूलो राजनीतिक हलचल आएको छ । पार्टीका वरिष्ठ नेता डा. तारानाथ लुइटेलको नेतृत्वमा करिब ७० जना केन्द्रीय पदाधिकारी, सदस्य र विभिन्न तहका नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । लुइटेलले आज खबरब्रेकिंग डटकम संग कुरा गर्दै यस्तो बताएका हुन ।
डा. लुइटेलले पार्टी परित्यागको कारण स्पष्ट पार्दै भने, “घोषणापत्रमा उल्लेख भएका प्रमुख एजेण्डाहरू—राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको पुनर्स्थापनाजस्ता मूल सिद्धान्तहरूमा नेतृत्वले चासो नदेखाएकोले हामी बाध्य भएर अलग्गिएको हौं ।” उनका अनुसार पार्टीको मूल विचार र लक्ष्यलाई नेतृत्वले क्रमशः कमजोर बनाउँदै गइरहेको र संगठनभित्र एकल निर्णयको प्रवृत्ति हावी भइरहेको आरोप समेत लगाइयो ।
उनले पार्टी अध्यक्ष कमल थापामाथि संगठनलाई एकल निर्णयमार्फत चलाएको आरोप लगाउँदै भने, “पार्टीभित्र सल्लाह, छलफल र लोकतान्त्रिक संस्कृतिलाई पूर्णतः बेवास्ता गरियो । नेताहरूको सल्लाह, सुझाव र जनभावनालाई अस्वीकार गरेर व्यक्तिगत शैलीमा निर्णय गर्न थालेपछि हामीसँग पार्टीभित्र बस्ने कुनै औचित्य रहेन ।”
लुइटेलले भने अनुसार, स्थानी तहदेखि जिल्ला, प्रदेश र केन्द्रीय तहसम्मका धेरैजसो सक्रिय कार्यकर्ताहरू अहिले आफ्नै पक्षमा उभिइसकेका छन् । “पार्टीको मूल मर्म र विचारधारामा विश्वास राख्ने धेरैजसो नेता र कार्यकर्ता हाम्रो पक्षमा खुलिसकेका छन् । अब हाम्रो अभियान संस्थागत रूप लिन लागेको छ,” उनले बताए ।
उनले राप्रपाधारीहरूको मूल लक्ष्य हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना रहेको स्मरण गराउँदै भने, “जबसम्म बैदिक सनातन मूल्यमा आधारित हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था फर्किँदैन, देशको पहिचान, स्थायित्व र राष्ट्रिय एकता मजबुत हुन सक्दैन ।”
लुइटेल समूहले अब निकट भविष्यमै नयाँ राजनीतिक दल गठन गर्ने तयारी भइरहेको जानकारी समेत दिएको छ । नयाँ दलले “बैदिक सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र राष्ट्रिय स्वतन्त्रता” लाई मूल एजेण्डा बनाएर घोषणा गरिने लुइटेलले स्पष्ट पारे । उनका अनुसार नयाँ पार्टीले परम्परागत राष्ट्रवादलाई आधुनिक रूप दिएर देशको राजनीतिक दिशामा नयाँ विकल्प प्रस्तुत गर्नेछ ।
यसैबीच, राप्रपा नेपालभित्र भएको यो विभाजनले कमल थापाको नेतृत्वमाथि पुनः प्रश्न खडा गरेको छ । गत केही वर्षयता पटक–पटक पार्टी फुट्दै आएका घटनालाई निरन्तरताको रूपमा लिइएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, राप्रपाभित्र विचारधाराभन्दा बढी व्यक्तिगत अहं र नेतृत्वकेन्द्रित शैलीकै कारण संगठन विभाजित हुँदै आएको हो ।
डा. लुइटेलले अन्त्यमा भने, “हामी कुनै व्यक्ति वा पदका लागि होइन, राष्ट्र र धर्मका लागि नयाँ बाटोमा लागेका हौं । नेपाललाई पुनः बैदिक सनातन हिन्दू राष्ट्रको रूपमा विश्वसामु स्थापित गर्न अबको यात्रा हाम्रो हुनेछ ।”
यस घटनाले राप्रपा नेपालको आगामी दिशा र भविष्यबारे नयाँ प्रश्नहरू खडा गरेको छ । अब कमल थापा नेतृत्वले यो आन्तरिक असन्तुष्टि समाधान गर्न सक्छ कि, या पार्टी फेरि अर्को ठूलो फुटको सामना गर्नेछ, त्यो आगामी केही हप्तामा स्पष्ट हुने देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend