आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको ३१औं स्थापना दिवसमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको ३१औं स्थापना दिवसमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

२८ असोज, काठमाडौं । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको ३१औं स्थापना दिवसको अवसरमा राजधानीमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लेखापढी तथा कानुनी क्षेत्रका अग्रज, पूर्व पदाधिकारी, नयाँ पुस्ताका पेशागत सदस्य तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले गरेका थिए । आफ्नो अध्यक्षीय मन्तव्यमा अध्यक्ष दाहालले नेपालमा लेखापढी र कानुन व्यवसायलाई मर्यादित, विश्वसनीय र जनउत्तरदायी पेशाका रूपमा स्थापित गर्न सबै सदस्यले आ–आफ्नो क्षेत्रमा इमानदारीपूर्वक योगदान दिनुपर्ने आवश्यकता औंल्याए । उनले हालको राजनीतिक, प्रशासनिक र सामाजिक संक्रमणकालीन अवस्थाले लेखापढी पेशामा पनि नयाँ चुनौतीहरू थपेको उल्लेख गर्दै पारदर्शिता, जिम्मेवारी र पेशागत नैतिकता मजबुत बनाउनेतर्फ एसोसिएसनले निरन्तर काम गरिरहेको बताए ।

जेन्जी आन्दोलनपछि देशमा देखिएको नयाँ सोच र प्रणालीगत परिवर्तनबारे पनि दाहालले टिप्पणी गर्दै भने, “अब हामीले हरेक पेशालाई जवाफदेही र राष्ट्र निर्माणमुखी बनाउनुपर्छ । लेखापढी कानुन व्यवसाय पनि यसको अपवाद होइन । हाम्रो काम देशको आर्थिक अनुशासन, सुशासन र जवाफदेहितासँग प्रत्यक्ष जोडिएको छ, त्यसैले हामीले आफैंबाट सुधारको उदाहरण देखाउनुपर्छ ।”

एसोसिएसनका महासचिव हरि प्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै, संस्थाको ३१ वर्षे यात्रा गौरवमय रहेको बताए । उनले लेखापढी पेशाले राष्ट्रको आर्थिक नीतिनिर्माणदेखि बजेट पारदर्शिता र स्थानीय तहसम्मको वित्तीय अनुशासनमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गराए । साथै उनले एसोसिएसनका क्रियाकलापहरू अझ सुदृढ र व्यावहारिक बनाउन सबै सदस्यको एकता र सक्रियता आवश्यक रहेको जोड दिए ।

त्यसैगरी, निवर्तमान महासचिव नवराज दाहालले आफ्नो कार्यकालको अनुभव बाँड्दै संस्थाले अनेक कठिनाइका बीच पनि पेशाको प्रतिष्ठा जोगाउन निरन्तर लडाइँ गरेको उल्लेख गरे । उनले आगामी पुस्तालाई अझ अध्ययनशील, दक्ष र पारदर्शी बन्न प्रेरित गर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा निबर्तमान अध्यक्ष तेज प्रसाद ढकालले पनि मन्तव्य राख्दै लेखापढी कानुन व्यवसायीहरू राष्ट्रका आर्थिक संरक्षक हुन् भन्ने धारणा व्यक्त गरे । उनले पेशागत अनुशासन र सेवा भावना नै व्यवसायको आधार हो भन्दै आगामी दिनमा एसोसिएसनले समाजमा विश्वसनीयता र भरोसाको प्रतीक बन्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा उपस्थित अतिथिहरूले पनि एसोसिएसनको ३१औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै संस्थाले आगामी दिनमा अझ सशक्त संस्थागत विकास र नीति सुधारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रमको औपचारिक सत्रपछि अतिथिहरूबीच आपसी शुभकामना आदान–प्रदान, फोटोसेसन र मैत्रीपूर्ण छलफल पनि भएको थियो ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले विगत तीन दशकदेखि देशभरका लेखापढी तथा कानुन व्यवसायीहरूलाई एकै मञ्चमा ल्याउँदै पेशागत अधिकार, मर्यादा र सीप विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । ३१औं स्थापना दिवसको यो अवसर संस्थाको विगतको उपलब्धिलाई सम्झँदै आगामी लक्ष्य निर्धारण गर्ने अवसरको रूपमा मनाइएको आयोजकले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend