२७ असोज, काठमाडौं । नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक विष्णुप्रसाद शर्माले राष्ट्र, राजा र जनचेतनाको गहिरो सम्बन्धबारे एक भावनात्मक अभिव्यक्ति दिएका छन् । असोज २४ गते आफ्नो फेसबुकमार्फत उनले राष्ट्रप्रतिको माया, जनताप्रतिको निराशा र नेतृत्वप्रतिको कठोर प्रश्न एकसाथ पोख्दै वर्तमान राजनीतिक अवस्थालाई “पराधीनताको रापमा सेकिन परेको युग” का रूपमा व्याख्या गरेका छन् ।
उनले लेखेका छन् — “देश र राजा पहिलो सर्त हो । नेपालको गौरवमय इतिहास त्यतिकै बनेको होइन । यो देश हजारौँ वीरहरूको परिश्रम, त्याग र बलिदानको जगमा उभिएको हो । त्यो गौरवको इतिहास अझै हामीसँग बाँकी छ, तर चेतना हराउँदै गएको छ ।”
शर्माले नेपाली समाजमा फैलिएको अराजकता, बेइमानी र कर्तव्यविहीनताको गहिरो विश्लेषण गर्दै लेखेका छन्, “मानिसमा मानवता, अनुशासन, कर्तव्य, इमान्दारीता, जिम्मेवारी र चेतना रहनु जरुरी छ । तर आज हामी निर्णय विवेकका आधारमा होइन, भड्काहट, डर र प्रलोभनमा गर्न थालेका छौं । सिकाएर होइन, किनेर शासन लाद्ने प्रवृत्तिले देशलाई पतनको बाटोमा धकेलेको छ ।”
उनले जनतालाई पनि आत्ममूल्यांकन गर्न आह्वान गर्दै लेखेका छन्, “नेता चुन्न, जीविको पार्जन गर्न, अरूको सिकोको भारी बोक्न जनताले बारम्बार गल्ती गरे । जनताको यही भूलले आज सबै नेपाली यो विषम परिस्थितिको सामना गर्न बाध्य भएका छन् । तर अझै चेतना पलाएको छैन । जागरणको समय अहिले नै हो ।”
शर्माले आफ्नो पोस्टमा ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै जनतालाई इतिहासबाट पाठ सिक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “लक्ष्मीप्रसाद देवकोटा मन्त्री हुँदा किन रोएका थिए ? किन उनको कोट लुकाइएको थियो ? ती घटना केवल व्यक्तिगत पीडा होइनन्, राष्ट्रप्रेम र आत्मबलिदानको सन्देश हुन् । राजाहरूले किन देशको हितबाहेक अरू सोच्दैनथे भन्ने कुरा पनि जनताले बुझ्न सक्नुपर्छ ।”
उनले हालका नेताहरूको स्वार्थ, लोभ र सत्ता मोहलाई नेपालको दीर्घकालीन कमजोरीको रूपमा व्याख्या गर्दै लेखेका छन्, “नेपाल नेताहरुकै महान भूलका कारण कहिल्यै माथि जान सकेन । नेताहरूको स्वार्थ, कुर्सी र दलीय अहंकारले देशलाई विभाजित बनाएको छ । यो युग नै दण्डहीनता र दिशाहीनताको प्रतीक बनिसकेको छ ।”
उनले अन्त्यमा भावनात्मक आग्रह गर्दै लेखेका छन्, “अब पनि चेतना पलाएन भने इतिहासले माफ गर्ने छैन । देशको अस्तित्व जोगाउने एक मात्र बाटो राजसंस्था र राष्ट्रिय एकताको पुनर्स्थापना हो । देश, धर्म, संस्कृतिको रक्षा गर्न सक्ने नेतृत्व नै अबको आवश्यकता हो । जब नागरिकले आफ्नै पहिचान, अनुशासन र जिम्मेवारी सम्झन्छ, तब मात्र नेपाल फेरि गौरवको शिखरमा पुग्छ ।”
विष्णुप्रसाद शर्माको यो राष्ट्रवादी पोस्ट सामाजिक सञ्जालमा छिट्टै फैलिएको छ । धेरै प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई “साँचो देशभक्तिको आवाज” भन्दै शेयर गरेका छन् । कतिपयले लेखेका छन् — “राजसंस्थाको पुनर्विचार अब इतिहास होइन, आवश्यकता हो,” भने अरूले प्रतिक्रिया जनाएका छन् — “शर्माजस्ता आवाजहरूले नेपाललाई फेरि आत्मसम्मानको बाटोमा फर्काउने छन् ।”
देशमा पछिल्ला आन्दोलन, जनअसन्तोष र राजनीतिक अनिश्चितताको पृष्ठभूमिमा संयोजक शर्माको यो वक्तव्यले जनमानसमा राष्ट्रवाद र नैतिक नेतृत्वबारे पुनः चेतना जगाएको देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend