२७ असोज, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तथा राप्रपा नेपालका नेता तारानाथ लुईटेलले सामाजिक सञ्जालमार्फत एक गहिरो राष्ट्रवादी भावना व्यक्त गर्दै देशभक्तिपूर्ण सन्देश दिएका छन्। उनले देश, जनता र राजसंस्थाको अस्तित्व नै नेपालको पहिचान भएको बताउँदै, राजनीतिक स्वार्थका लागि राष्ट्रिय भावना कमजोर पार्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्।
लुईटेलले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन् — “सबैभन्दा माथि आफ्नो देश र राजा अनि जनताहरु हुन्। आज सिंहदरवार, संसद भवन र अदालत जलाउनेहरु सायद खुसी होलान, तर उनीहरुबाट राष्ट्र कमजोर बनिँदै गएको छ भन्ने कुरा सोच्न सक्दैनन्। राजा ज्ञानेन्द्रले दाजु राजा वीरेन्द्रलाई मारेका हुन् भन्ने जस्ता अफवाह र असत्य प्रचार गर्नेहरु चही दुःखी छन् कि खुसी छन् — यो प्रश्न अहिले पनि खुला छ।”
उनले थप लेखेका छन कि, “राष्ट्र र राष्ट्रियता कमजोर नभएर के हुन्छ त ? जब देशमाथिको आस्था हराउँछ, तब राज्यभित्रको स्वतन्त्रता पनि धरमराउँछ।” उनको यो भनाइले अहिलेको राजनीतिक अस्थिरता, विभाजन र मूल्य–मान्यताको क्षयतर्फ संकेत गरेको देखिन्छ।
लुईटेलले सामाजिक सञ्जालमार्फत राजनीतिक दल, नागरिक समाज र युवाहरुलाई राष्ट्रप्रतिको कर्तव्य सम्झाउँदै राष्ट्रिय एकताको आह्वान गरेका छन् । उनका अनुसार देशलाई सुदृढ बनाउन राजनीतिक सन्तुलन र संवैधानिक राजसंस्थाको पुनर्स्थापना नै अबको मुख्य आवश्यकता हो।
उनले लेखेको विचारले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएको छ। कतिपयले उहाँको राष्ट्रवादी दृष्टिकोणको प्रशंसा गरेका छन् भने केहीले वर्तमान व्यवस्थाप्रति उहाँको असन्तोषलाई पुरानो सोचको पुनरावृत्ति भनेका छन्।
तर, लुईटेलको मुख्य सन्देश स्पष्ट छ — देश, जनता र राष्ट्रियता भन्दा माथि कुनै पनि स्वार्थ, राजनीति वा पद हुन सक्दैन। उनले सबै नेपालीलाई यही चेतना जागृत गराउन आह्वान गर्दै अन्त्यमा लेखेका छन् , “राष्ट्र कमजोर बनाउने सोच राख्नेहरुलाई इतिहासले कहिल्यै क्षमा गर्दैन।” यस वक्तव्यले राष्ट्रिय स्वाभिमान र देशप्रतिको निष्ठा पुनः चर्चामा ल्याएको छ, विशेषगरी वर्तमान राजनीतिक असन्तुलन र असन्तुष्ट वातावरणबीच।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend