२५ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले प्रयोग गर्दै आएको सरकारी ह्वाट्सएप नम्बर ह्याक भएको छ। शुक्रबार राति ह्याक भएको उक्त नम्बरबाट अज्ञात स्क्यामरले विभिन्न व्यक्तिहरूसँग रकम मागिरहेको खुलेको छ।
प्रहरी कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै एसपी थेबेको ह्वाट्सएप नम्बर ९८५२०८५५५५ राति ८:४५ बजे ह्याक भएको पुष्टि गरेको हो। ह्याकपछि सो नम्बरबाट अनधिकृत व्यक्तिले अनावश्यक सन्देश पठाउने र पैसा माग्ने गतिविधि भइरहेको प्रहरीले जनाएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “उक्त नम्बरबाट विभिन्न व्यक्तिलाई सन्देश पठाई रकम माग्ने कार्य भइरहेकोले ती सन्देशको विश्वास नगर्नुहोस्। सबै जना सचेत रहनुहोस्।”
प्रहरीले सो नम्बरबाट आएको कुनै पनि सन्देशमा विश्वास नगर्न र यस्ता घटनाबारे तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। साथै, डिजिटल सुरक्षाप्रति सचेत रहँदै व्यक्तिगत सूचना तथा सम्पर्क नम्बर सुरक्षित राख्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend