२४ असोज, काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन दलहरूको सक्रिय सहभागिताबिना सम्भव नहुने स्पष्ट मत व्यक्त गरेकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले शान्ति–सुरक्षाको पक्का व्यवस्था गर्ने विश्वास दिलाएकी हुन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री कार्कीले हालको असन्तुष्ट युवा पुस्ता, विशेषगरी ‘जेनजी’ भनिने नयाँ पुस्ता, सबै दलका सन्तान भएको उल्लेख गर्दै उनीहरूको आक्रोश र परिवर्तनको चाहना बुझेर राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने बताइन्। “जेनजीहरूले किन असन्तुष्टि जनाइरहेका छन् भन्ने बुझेर, उनीहरूको आवाजलाई आत्मसात् गर्दै अघि बढ्न दलहरूले ढिलो नगर्नुपर्छ,” प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै पोखरेलले जानकारी दिए।
बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा निर्वाचनमार्फत मात्रै सम्भव हुने भन्दै आगामी प्रतिनिधिसभा निर्वाचनलाई सबैको साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरे। उनले भने, “फागुन २१ गते तोकिएको निर्वाचन देशलाई स्थायित्व र मार्गदर्शन दिने अवसर हो, त्यसैले सबै दल एकमत भएर अघि बढ्नुपर्छ।”
बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक मूल्य र प्रक्रियामा आस्था व्यक्त गर्दै निर्वाचनका लागि सिद्धान्ततः तयार रहेको जनाए। तर, उनीहरूले अहिलेको सुरक्षा व्यवस्थाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आवश्यक भरोसा दिलाउन नसकेको चिन्ता पनि व्यक्त गरे।
सर्वदलीय बैठकले देशको विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्दै नागरिक आस्था पुनर्स्थापित गर्न निर्वाचनलाई निर्णायक मोडको रूपमा व्याख्या गरेको छ। प्रधानमन्त्री कार्कीले निकट भविष्यमा निर्वाचन तयारी, सुरक्षा संयन्त्र र राजनीतिक संवादलाई सशक्त बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याएकी छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend