२२ असोज, काठमाडौं ।अबिरल वर्षाका कारण ओखलढुङगा जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। लगातारको वर्षाले ट्रान्समिसन लाइन, पोल र अन्य पूर्वाधारमा असर परेपछि स्थानीय बासिन्दा लामो समयदेखि बिजुली अभावको समस्यामा परेका छन्।
केही समयअघि स्रोत सुनिश्चित भई टेन्डर प्रक्रियामा पुगेका ओखलढुङगाका विभिन्न स्थानका ऊर्जा पूर्वाधारसम्बन्धी परियोजनाहरू समेत वर्षाको प्रभावमा परेका छन्। यसले जिल्लाको विकासको गति र स्थानीय सेवाप्रवाहमा प्रत्यक्ष असर गरेको जनाइएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले नयाँ कार्यकारी निर्देशकलाई औपचारिक रूपमा जानकारी गराउँदै तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनले ओखलढुङगाको ऊर्जा पूर्वाधार विकासमा कुनै अवरोध नआओस् भन्ने अपेक्षा व्यक्त गर्दै सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।
साथै, उनले दुधकोशी हाइड्रोपावर परियोजनासम्बन्धी विषयमा पनि विशेष ध्यानाकर्षण गराएका छन्। सांसद खतिवडाले उक्त आयोजना देशकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना भएकाले यसको काम ढिलाइ हुन नदिन, समन्वय र स्रोत व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनी भन्छन्, “ओखलढुङगाको ऊर्जा पूर्वाधारले देशको विद्युत् प्रणालीलाई सशक्त बनाउन सक्ने सम्भावना राख्छ, त्यसैले यसको अवरोध रहित कार्यान्वयन हाम्रो सामूहिक जिम्मेवारी हो।”
खतिवडाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै जिल्ला विकासका हरेक परियोजनामा निरन्तर ध्यान दिइरहेको र अवरोध उत्पन्न हुनेबित्तिकै आवश्यक पहल गर्दै आएको जानकारी दिएका छन्।
स्थानीयवासीहरूले सांसद खतिवडाको सक्रियता र पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले ऊर्जा पूर्वाधार सुधार र विद्युत् आपूर्तिको नियमितताका लागि शीघ्र सुधारात्मक कदम चाल्न सरकारसँग अपेक्षा व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend