१९ असोज,काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ। बाढी, पहिरो र डुबानले जनताको जीवन असुरक्षित बनेको छ भने धेरै परिवार घरवारविहीन भई अस्थायी बासमा बस्न बाध्य भएका छन्।
नेपाली जनता दलका अध्यक्ष हरि चरण साहले यस्तो अवस्थामा पीडितलाई राहत पुर्याउनु र विस्थापितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नु सरकारको दायित्व र कर्तव्य दुवै भएको बताएका छन्। उनले भने, “विपद्मा परेका नागरिकलाई सहयोग गर्नु केवल सरकारको जिम्मेवारी मात्र होइन, मानवीय दृष्टिले पनि आवश्यक कर्तव्य हो। सरकारले तुरुन्तै राहत र पुनःस्थापनाको व्यवस्था मिलाउनुपर्छ।”
उनले विपद्को बेलामा सबैले एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज, संघसंस्था र स्थानीय समुदाय सबै मिलेर पीडितलाई सहयोग पुगोस् भन्ने आग्रह गरे। साहले भने, “यो विपत्तिको घडीमा विभाजन होइन, ऐक्यबद्धता आवश्यक छ। सरकार र सम्पूर्ण नागरिक एक ठाउँमा उभिँदा मात्रै विपद्ग्रस्तलाई राहत पुर्याउन सकिन्छ।”
वर्षाका कारण घरवारविहीन भएका नागरिकलाई व्यवस्थित आवासको व्यवस्था मिलाउन सरकार अलिक गतिशील बन्नुपर्नेमा पनि उनले जोड दिए। “बेपत्ता भएका नागरिकको खोजी, घाइतेको उपचार र विस्थापितको दीर्घकालीन पुनःस्थापनामा सरकार गम्भीर भएर अघि बढोस्,” अध्यक्ष साहले भने।
साहले राहत वितरण पारदर्शी, निष्पक्ष र छिटो हुनुपर्ने भन्दै सबै तहका सरकारले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव पनि दिएका छन्। उनका अनुसार पीडित जनतालाई तत्काल आवश्यक सहयोग मात्र नभई भविष्यमा पुनर्निर्माण र सुरक्षित आवासको स्थायी समाधानमा पनि सरकार केन्द्रित हुन जरुरी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend