१९ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा सक्रिय रहेको न्यून चापीय प्रणाली बाहिरिसकेकाले मनसुन क्रमशः कमजोर हुँदै मौसममा सुधार आउन थालेको जनाएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै मौसममा सुधार देखिए पनि आकस्मिक बाढी र डुबानको जोखिम भने कायम नै रहेको जनाएको हो।
विभागका अनुसार असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा अविरल वर्षा भएको थियो। यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। केवल रौतहटको महेशपुरमा मात्रै पछिल्ला २४ घण्टामा ३५८ मि.मि. वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।
यसैबीच, बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा असोज १८ गतेदेखि नै जलसतह खतरा तह नाघेको भए पनि हाल क्रमशः घट्दो अवस्थामा पुगेको छ। त्यस्तै, सिकोशी नदी तथा तमोर, सुनकोशी, अरुण जस्ता सहायक नदीहरू पनि असोज १९ गते बिहानसम्म खतरा तह नाघेर अहिले स्थिर हुँदै गएको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा रेकर्ड गरिएको थियो। तीमध्ये १०५ वटामा ५० मि.मि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको तथ्यांक सार्वजनिक गरिएको छ।
त्यसैगरी, कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा समेत जलसतह खतरा तह पार गरेपछि हाल स्थिर अवस्थामा पुगेका छन्। तर, कोशी नदी चतरा केन्द्रमा बहाव अझै खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत् रहेको विभागले चेतावनी दिएको छ।
विभागले असोज २० गते मध्यान्हसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणसँगै सम्बन्धित सरोकारवालालाई आग्रह गर्दै आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ र एसएमएस सेवामार्फत नियमित जानकारी लिन आग्रह गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend