१८ असोज,काठमाडौँ । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विपद्को अवस्थामा सञ्चार सेवा अवरुद्ध भए तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आपत्कालीन अवस्था वा आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा तोकिएका नम्बरमार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार, नेपाल दूरसञ्चारको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३, साथै मन्त्रालयकै ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालय र सम्बद्ध निकायका प्रतिनिधिहरूबीच छलफल हुँदै विपद्को घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन थप तदारुकताका साथ काम गर्ने निर्णय भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मन्त्रालयले नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न सही सूचना प्रवाह, आपत्कालीन सञ्चार सुविधा उपलब्ध गराउने तथा सम्बन्धित निकायबीच द्रुत समन्वय गर्ने तयारी गरिएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend